काठमाडौँ । बाढी तथा अन्य विपद्बाट प्रभावितको उद्धार र राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणमा कोषमा नेपाली रुपैयाँतर्फ ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ जम्मा भएको छ।

ad

त्यस्तै, कोषका दुईवटा बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर मौज्दात रहेको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरमा रहेको रकमलाई समेट्दा कोषमा कुल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ बराबरको रकम उपलब्ध रहेको कार्यालयले जनाएको छ।

भदौ २५ गते मात्रै कोषमा उल्लेख्य रकम थपिएको छ। उक्त दिन नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ तथा अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर संकलन भएको विवरणमा उल्लेख छ।

यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको थियो। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत परिचालन गरिएको जनाइएको छ।

कोषमा जम्मा भएको रकम विपद्का बेला प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रयोग हुँदै आएको छ।