
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।
युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटमा आधारित उपकरणहरू एनसेलले सरकारी निकायहरूसँगको समन्वयमा प्रभावित स्थानहरूमा जडान गरिरहेको छ। यो प्रविधिले परम्परागत नेटवर्क वा फाइबर लाइन अवरुद्ध भएको अवस्थामा पनि स्याटलाइटमार्फत सिधै सिग्नल लिई स्थानीय क्षेत्रमा वाईफाईमार्फत उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दछ।
हालसम्म नुवाकोटका तीनवटा महत्त्वपूर्ण स्थानमा यो सेवा सञ्चालनमा आइसकेको छ भने अन्य बाढी प्रभावित क्षेत्र, अस्थायी शिविर तथा होल्डिङ सेन्टरहरूमा जडान कार्य जारी छ। यो प्रविधिबाट प्रभावित नागरिक तथा उद्धारकर्मीहरूले सन्देश आदानप्रदान, इन्टरनेट कल तथा राहत समन्वयका लागि निःशुल्क सेवा उपयोग गर्न सक्नेछन्।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणलगायतका निकायबाट स्वीकृति लिएर यो सेवा विस्तार गरिएको हो।
एनसेलले यसअघि नै बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई दैनिक रूपमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। साथै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोगसमेत गरिसकेको छ।









Facebook Comments