काठमाडौं । रसुवा लगायतका क्षेत्रमा गएको बाढीपछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्थापना गरिएको प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहानसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ संकलन भएको हो। विभिन्न नौ वटा वाणिज्य बैंकहरूमा रहेको नेपाली रुपैयाँ खातामा मात्रै ८ अर्ब ५९ करोड १९ लाख रुपैयाँ मौज्दात रहेको छ।

ad

यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा सञ्चालित डलर खातामार्फत २ करोड ११ लाख आठ हजार ४७१ रुपैयाँ बराबरको सहयोग रकम जम्मा भएको कार्यालयले जनाएको छ।

संकलन भएकाे कुल रकममध्ये यसअघि नै रसुवाका बाढीपीडितहरूको आपत्कालीन राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा १ अर्ब रुपैयाँ निकासा भइसकेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र पीडितहरूको पुनस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।