
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सञ्चारसञ्जाल अवरुद्ध बनेका प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमा आधारित निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीले युटेलस्याटको लो अर्थ अर्बिट (LEO) स्याटलाइटमार्फत सञ्चालन हुने अत्याधुनिक उपकरणहरू आपत्कालीन स्थलहरूमा जडान गरिरहेको छ। सरकारी निकायसँगको घनिष्ठ समन्वयमा अघि बढाइएको यो पहलले सञ्चारका अन्य सबै माध्यम फेल भएका स्थानमा पनि सम्पर्क नटुट्ने सुनिश्चित गरेको छ।
बाढी प्रभावित स्थानीय समुदाय, राहत वितरण केन्द्र, अस्थायी शिविर, होल्डिङ सेन्टर र उद्धार कार्यस्थलहरूमा यो सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको छ। प्रारम्भिक चरणमा सडक र सञ्चार पूर्वाधारमा सर्वाधिक क्षति पुगेका नुवाकोटका तीन प्रमुख स्थानमा यो प्रविधि जडान भइसकेको र अन्य प्रभावित क्षेत्रमा समेत द्रुत गतिमा विस्तार भइरहेको एनसेलले जनाएको छ।
स्थानीय पूर्वाधार क्षतिग्रस्त हुँदा उद्धार कार्यमा देखिने मुख्य कठिनाइलाई मध्यनजर गर्दै यो कदम चालिएको हो। यस सेवामार्फत प्रभावित क्षेत्रका नागरिक र सुरक्षाकर्मीले इन्टरनेट कल, सन्देश आदानप्रदान, सूचना प्राप्ति तथा राहत समन्वयका लागि भरपर्दो सञ्चार सुविधा प्राप्त गर्नेछन्।
संकटको यस घडीमा एनसेलले प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई दैनिक रूपमा निःशुल्क भ्वाइस कल, डेटा र एसएमएस सुविधा प्रदान गर्दै आएको छ। यसबाहेक, एनसेल फाउन्डेसनमार्फत सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत तथा पुनःस्थापना कार्यका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग समेत हस्तान्तरण गरिसकेको छ।








Facebook Comments