काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा बाढीपछि अवरुद्ध भएको सुरुङमा उद्धार टोली प्रवेश गराउन चट्टान हटाउने काम भइरहेको छ। उद्धार अभियानलाई तीव्र बनाउन नेपाल र भारतका प्राविधिक तथा उद्धार टोलीले संयुक्त रूपमा काम गरिरहेका छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सामाजिक सञ्जालमार्फत चिलिमेमा उद्धार प्रयास निरन्तर भइरहेको जानकारी दिएका हुन्। उनका अनुसार भारतीय टोलीसहित नेपाली पक्षसँग समन्वय गरी सुरुङभित्र प्रवेशका लागि आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको छ।

ad

सुरुङभित्र उद्धारकर्मीलाई सुरक्षित रूपमा प्रवेश गराउन आवश्यक सुरक्षा डोरीको कनेक्सन तयार गरिएको राजदूत श्रीवास्तवले बताएका छन्।

बाढीपछि सुरुङभित्र थुप्रिएको हिलो तथा लेदो हटाउन ठूलो क्षमताका मड पम्प र जेनेरेटरसमेत घटनास्थलमा पुर्‍याइएको छ। उपकरण परिचालन गरेर सुरुङभित्रको अवरोध हटाउने काम अघि बढाइएको जनाइएको छ।

उद्धार टोलीलाई घटनास्थलसम्म सहज रूपमा पुर्‍याउन र आवश्यक उपकरण तथा सामग्री ढुवानी गर्न सडक निर्माण तथा पहुँच मार्ग सुधारको काम पनि सँगसँगै अघि बढिरहेको राजदूत श्रीवास्तवले जानकारी दिएका छन्।

चिलिमे जलविद्युत् आयोजनामा बाढीपछि सुरुङभित्रको अवस्था जटिल बनेकाले उद्धार टोलीले प्राविधिक सावधानी अपनाउँदै चरणबद्ध रूपमा खोजी तथा उद्धार अभियान अघि बढाइरहेको छ।