काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी ३४ देशका ५८७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। उनीहरू कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड पुगेका पर्यटक रहेको पर्यटन विभागले जनाएको छ।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार विभिन्न पर्यटन कम्पनीमार्फत ती पर्यटक रसुवा पुगेका थिए। बेपत्ता विदेशीमध्ये २५६ पुरुष, ३२९ महिला र दुई जना अन्य रहेको विभागको विवरणमा उल्लेख छ।

ad

बेपत्ता हुने विदेशी नागरिकमा सबैभन्दा ठूलो संख्या भारतको छ। भारतका १८४ नागरिक सम्पर्कविहीन छन्। त्यसपछि अमेरिकाका ६७, मलेसियाका ५५, युक्रेनका ५४, अष्ट्रेलियाका ३३, लाटभियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० नागरिक बेपत्ता भएको विभागले जनाएको छ।

त्यस्तै चीनका २६, जर्मनी र रसियाका आठ–आठ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, न्युजिल्यान्ड र जापानका पाँच–पाँच तथा फ्रान्सका चार नागरिक पनि बेपत्ता सूचीमा छन्। अन्य विभिन्न मुलुकका एकदेखि दुई जनासम्म पर्यटकसमेत सम्पर्कविहीन रहेको विभागको तथ्यांक छ।

१८८ नेपाली पनि बेपत्ता

भोटेकोशी बाढीपछि १८८ नेपाली नागरिकसमेत बेपत्ता भएका छन्। विभागका अनुसार उनीहरूमध्ये १६१ पुरुष र २७ महिला छन्।

सूचना अधिकारी घिमिरेका अनुसार बेपत्ता नेपालीमा विदेशी पर्यटकका सहयोगीका रूपमा गएका व्यक्ति तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड यात्रामा सहभागी नेपाली पर्यटक रहेका छन्।

३०७ विदेशीको उद्धार

बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी राखेको छ। हालसम्म ३०७ विदेशी पर्यटकलाई सुरक्षित रूपमा उद्धार गरिएको पर्यटन विभागले जनाएको छ।

उद्धार गरिएकामध्ये २५४ पुरुष र ५३ महिला छन्। त्यस्तै, बाढीपछि सम्पर्कविहीन भएका सात जना पुनः सम्पर्कमा आएका छन्। उनीहरूमा दुई पुरुष, चार महिला र एक अन्य रहेको विभागले जनाएको छ।

बेपत्ता नागरिकको खोजीका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले अभियानलाई निरन्तरता दिएका छन्। उद्धारसँगै प्रभावित क्षेत्रमा राहत तथा अन्य आवश्यक व्यवस्थापनको कामसमेत अघि बढाइएको छ।