
काठमाडौँ । भीषण बाढीबाट प्रभावित उत्तरी रसुवाका चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा उद्धार कार्यका लागि आवश्यक भारी उपकरण लैजान नसक्दा खोजी कार्य थप जटील बनेको छ।
आयोजना स्थलसम्म पुग्ने सडक सञ्जाल पूर्ण रूपमा ध्वस्त भएकाले एक्साभेटर, पानी तान्ने पम्प र जेनरेटर जस्ता अत्यावश्यक उपकरणहरू पुर्याउन नसकिएको आयोजना अधिकारीहरूले जनाएका छन्। भौतिक पहुँच ठप्प भएपछि अहिले उद्धार टोली र केही साना उपकरणहरू हेलिकोप्टरमार्फत मात्रै घटनास्थलसम्म पुर्याउनुपर्ने बाध्यता छ।
चिलिमे जलविद्युत् आयोजना (२२ मेगावाट): गत भदौ १० गते आएको बाढीले क्षति पुर्याएको यस आयोजनाको भूमिगत विद्युत् गृहमा ६ जना कर्मचारी फसेका छन्। करिब ९० मिटर लामो मुख्य पहुँच सुरुङ हिलो र पानीले भरिएकाले तीन दिनदेखि साना औजारका सहायताले हातैले (म्यानुअल्ली) सफा गर्ने काम भइरहेको छ।
उपकरण ढुवानीमा सास्ती: बट्टारमा तीन टनको एक्साभेटर फुकालेर (डिसमेन्टल गरी) राखिए पनि भौगोलिक कठिनताका कारण आयोजना स्थलसम्म लैजान सकिएको छैन। हाल केवल पम्प मात्र पुर्याउन सकिएको चिलिमे हाइड्रोपावरका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले जानकारी दिए।
रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट): रसुवागढीमा अझै ९३ जना मानिसहरू सम्पर्कविहीन छन्। आयोजनाका कम्पनी सचिव नरनाथ न्यौपानेका अनुसार त्यहाँ पनि उद्धारका लागि पम्प, जेनरेटर र एक्साभेटर पुर्याउने निरन्तर प्रयास भइरहेको छ।
हाल आयोजना स्थलमा नेपाली तथा भारतीय सेनाको टोली, आयोजनाका प्लान्ट म्यानेजरसहितका प्राविधिकहरू सीमित साधन-स्रोतका बीच जोखिम मोलेर सुरुङ सफा गर्ने र फसेकाहरूको खोजी कार्यमा जुटिरहेका छन्।








Facebook Comments