
काठमाडौँ — उत्तरी नेपालमा गएको विनाशकारी बाढी र पहिरोपछिको उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि बंगलादेश सरकारले नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' मा एक मिलियन अमेरिकी डलर (करिब १५ करोड २० लाख नेपाली रुपैयाँ) सहयोग प्रदान गरेको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानका तर्फबाट त्यहाँका परराष्ट्र राज्यमन्त्री हुमायुन कबीरले बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई सहयोगसम्बन्धी पत्र हस्तान्तरण गरेका हुन्। उक्त पत्र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाइएको हो।
नेपालमा गत भदौ १० (अगस्ट २६) मा गएको अभूतपूर्व फ्ल्याश फ्लडपछि बंगलादेशी प्रधानमन्त्री रहमानले प्रधानमन्त्री शाहलाई सन्देश पठाउँदै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका थिए। त्यसैगरी बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि राष्ट्रपतिसमक्ष गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। यसअघि भदौ १६ मा परराष्ट्र राज्यमन्त्री कबीरले ढाकास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए।
प्राकृतिक विपत्तिका कारण नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति बंगलादेशको राष्ट्रिय संसद (जातीय संसद) ले समेत भदौ ११ गते शोक प्रस्ताव पारित गरेको थियो। संसद बैठकमा मृतकको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गर्नाका साथै नेपाललाई तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउन बंगलादेश सरकारसँग आग्रह गरिएको थियो।
यसैक्रममा बंगलादेशका परराष्ट्रमन्त्री डा. खलीलुर रहमान र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच टेलिफोन वार्ता भई सहायता उपलब्ध गराउने मोडालिटीबारे छलफल भएको थियो। विपद्को यस कठिन घडीमा बंगलादेशले देखाएको यो अग्रसरताले दुई देश र त्यहाँका जनताबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, सद्भाव र निकटतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।








Facebook Comments