काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालमा रहेका विदेशी पर्यटकको अवस्थाबारे स्वदेश तथा विदेशबाट निरन्तर चासो र खोजी भइरहेको छ। आफन्त सम्पर्कविहीन भएपछि उनीहरूका परिवारजन नेपालमै आएर खोजीमा जुट्न थालेका छन् भने नेपाल भ्रमण गरेर फर्किएका विदेशीले समेत यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागिरहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार भोटेकोशी बाढीपछि ५८३ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन छन्। उनीहरूसँगै यात्रामा रहेका १६४ जना नेपाली नागरिक पनि सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ।

ad

बाढी प्रभावितमध्ये २७३ जना विदेशी पर्यटकको भने सुरक्षित उद्धार भइसकेको छ। लाङटाङ क्षेत्रमा पदयात्रा गरिरहेका तथा तिब्बतको कैलाश–मानसरोवर यात्रामा रहेका पर्यटकहरू बाढीको चपेटामा परेका थिए।

सम्पर्कविहीन पर्यटकका परिवारका लागि आफन्तको अवस्थाबारे सूचना पाउनु अहिले सबैभन्दा ठूलो चासो बनेको छ। त्यसबाहेक नेपाल भ्रमण गरेर फर्किएका विदेशीले पनि विपद्पछि नेपाली नागरिकको सुरक्षा र समग्र नेपालको अवस्थाबारे चासो देखाइरहेका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरका पूर्वअध्यक्ष धर्मराज पन्थीका अनुसार नेपाल भ्रमण गरेर फर्किएका विदेशीबाट पछिल्लो समय निरन्तर सन्देश र सोधखोज आइरहेको छ।

उनका अनुसार केहीले नेपालमा रहेका आफ्ना चिनजानका व्यक्ति सुरक्षित छन् कि छैनन् भनेर सोधिरहेका छन् भने केहीले सम्पर्कविहीन आफन्तबारे कुनै नयाँ जानकारी प्राप्त भएको छ कि छैन भनेर चासो राखिरहेका छन्।

‘नेपाल आएर फर्केका धेरै पर्यटकले पछिल्लो अवस्था र नेपाली नागरिकको सुरक्षाबारे चासो देखाइरहेका छन्। हराइरहेका आफन्तबारे केही सूचना पाउन सकिन्छ कि भनेर सोध्ने पनि धेरै छन्,’ पन्थीले भने।

उनका अनुसार कतिपय विदेशीले व्यक्तिगत रूपमा सहयोग आवश्यक परे आफूहरू तयार रहेको सन्देशसमेत पठाइरहेका छन्।

नेपालको अवस्थाबारे विदेशीहरू कति जानकार छन् भन्ने उदाहरण पोखरा–काठमाडौं सडक अवरुद्ध भएको विषयमा उनीहरूले गर्ने सोधखोजबाट पनि देखिने पन्थीको भनाइ छ।

उनका अनुसार बाढी प्रभावित क्षेत्रको भ्रमण गरेर फर्किसकेका विदेशीमा स्वाभाविक रूपमा बढी चिन्ता देखिएको छ। तर, विपद्का कारण पूरै नेपाल प्रभावित भएको गलत बुझाइसमेत कतिपयमा रहेको उनले बताए।

‘विदेशीको पहिलो सन्देश नै तिमी ठीक छौ र सुरक्षित छौ नि भन्ने हुन्छ। पुरै नेपाल समस्यामा परेको होइन भनेर जानकारी दिएपछि उनीहरू केही ढुक्क हुन्छन्,’ उनले भने।

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार सम्पर्कविहीन विदेशी पर्यटकका आफन्त उनीहरूको खोजीका लागि नेपाल आउन थालेका छन्।विभिन्न देशबाट नेपाल आएका आफन्तको मुख्य उद्देश्य हराइरहेका परिवारका सदस्यको अवस्थाबारे जानकारी लिनु रहेको उनले बताए।

शर्माका अनुसार घटनाको सुरुवाती दिनमै केही आफन्तले आफ्ना परिवारका सदस्यको खोजीका लागि हेलिकप्टर प्रयोग गर्न सकिने वा नसकिनेबारे समेत प्रश्न गरेका थिए। सरकारी निकायबाट भइरहेको खोज तथा उद्धारको प्रक्रियाबारे जानकारी पाएपछि उनीहरू केही शान्त भएको उनको भनाइ छ।

अहिले भने आफन्तहरूले सम्पर्कविहीन व्यक्तिबारे कुनै नयाँ सूचना आएको छ कि छैन भनेर नियमित रूपमा बोर्डसँग जानकारी मागिरहेका छन्।पर्यटन बोर्डले विपद्पछि सम्पर्कविहीन तथा उद्धार गरिएका पर्यटकको विवरण संकलन गरी नियमित रूपमा सूचना सार्वजनिक गरिरहेको जनाएको छ।

बोर्डका अनुसार आफन्तहरू कतिपय अस्पतालसम्म पुगेर खोजी गरिरहेका छन्। अस्पतालबाहिर राखिएका तस्वीर र उद्धार गरिएका वा सम्पर्कविहीन व्यक्तिको सूचीमा आफ्ना आफन्तको नाम तथा विवरण छ कि छैन भनेर उनीहरूले खोज्ने गरेका छन्।‘मेरा आफन्त कहाँ होलान् भनेर जानकारी लिन आउने धेरै छन्। केहीले इमेलमार्फत पनि सोधिरहेका छन्। हामीसँग उपलब्ध सूचना उनीहरूलाई दिएका छौं,’ शर्माले भने।

सम्पर्कविहीन व्यक्तिको पहिचानमा सहयोग पुगोस् भनेर केही विदेशी आफन्तले डीएनए प्रोफाइल तयार पार्न आवश्यक नमुना दिन थालेको जानकारीसमेत उनले दिए।

बाढी प्रभावित क्षेत्रमा पुगेका अधिकांश विदेशी पर्यटक ट्राभल तथा ट्रेकिङ कम्पनीमार्फत पदयात्रा वा धार्मिक यात्रामा निस्किएका थिए। त्यसैले विपद्को सुरुवाती चरणमा उनीहरूका आफन्तले सम्बन्धित ट्राभल वा ट्रेकिङ कम्पनीमा सम्पर्क गरेर जानकारी लिने गरेका थिए।तर अहिले खोजी तथा उद्धारसम्बन्धी विवरणलाई सरकारी सूचना प्रणालीसँग जोडेर पर्यटन बोर्डमार्फत पनि जानकारी प्रवाह भइरहेको शर्माले बताए।

उनका अनुसार सम्बन्धित कम्पनीबाट प्राप्त पर्यटकको विवरण, सम्पर्कविहीन व्यक्तिको सूचना तथा उद्धार गरिएकाको विवरणलाई एकीकृत गरेर प्रमाणीकरण गर्ने काम भइरहेको छ। एउटै व्यक्तिको विवरण दोहोरिन नदिन तथ्यांक मिलाएर आफन्तलाई सूचना उपलब्ध गराउने गरिएको उनले बताए।

‘पर्यटकबारे हामीसँग उपलब्ध सबै जानकारी सम्बन्धित परिवारलाई दिएका छौं। सरकारबाट भइरहेको खोज तथा उद्धारको प्रयासबारे पनि जानकारी गराएका छौं,’ शर्माले भने।तर आधिकारिक सूचना उपलब्ध गराइरहँदा पनि आफन्तको चिन्ता कम हुन नसकेको उनले बताए। सम्पर्कविहीन परिवारका सदस्यको अवस्थाबारे नयाँ जानकारी आउने प्रतीक्षामा उनीहरू निरन्तर सम्पर्कमा रहेको बोर्डले जनाएको छ।

भोटेकोशी बाढीपछि विदेशी पर्यटकको खोजी र उद्धारसँगै उनीहरूका परिवारलाई विश्वसनीय सूचना उपलब्ध गराउनु पनि अहिले चुनौती बनेको छ। उद्धार गरिएका र सम्पर्कविहीन पर्यटकको विवरण अद्यावधिक गर्दै सम्बन्धित परिवारसम्म सूचना पुर्‍याउने कामलाई प्राथमिकता दिइएको सरकारी निकायहरूले जनाएका छन्।