काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन अहिलेसम्मकै लामो सुरुङमार्गमा ‘ब्रेक थ्रु’ भएको छ। धेद्रे र महादेवटारलाई जोड्ने ३.४८६ किलोमिटर लामो सुरुङको दुवैतर्फबाट खन्ने काम पूरा भएपछि सुरुङ जोडिएको हो।

आयोजनासँग सम्बन्धित इन्जिनियर मंगललाल श्रेष्ठले सुरुङको ब्रेक थ्रु भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। उनका अनुसार बाढी तथा विपद्का कारण देश शोकमा रहेका बेला फास्ट ट्र्याक आयोजनाबाट सुखद खबर आएको हो।

ad

धेद्रे–महादेवटार सुरुङ फास्ट ट्र्याकमा निर्माणाधीन सुरुङमध्ये सबैभन्दा लामो हो। यो सुरुङ जोडिएसँगै आयोजनामा तीनवटा सुरुङमार्गको ब्रेक थ्रु पूरा भएको छ।

यसअघि १.६९ किलोमिटर लामो धेद्रे सुरुङ र १.६२ किलोमिटर लामो लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको थियो। यी तीनवटै सुरुङ ‘ट्विन ट्युब’ अवधारणाअन्तर्गत फास्ट ट्र्याकको प्रारम्भिक डिजाइनमै समावेश गरिएका थिए।

फास्ट ट्र्याकको प्रारम्भिक डिजाइनमा रहेका सुरुङको संख्या पछिल्लो डिजाइन संशोधनपछि बढाएर सात पुर्‍याइएको छ। आयोजनाको कुल ७१ किलोमिटर सडकखण्डमध्ये करिब ११ किलोमिटर भाग सुरुङमार्फत निर्माण हुने गरी योजना अघि बढाइएको छ।

महादेवटारपछि फास्ट ट्र्याकमा निर्माण हुने लामो सुरुङमध्ये चन्द्राम भीरको सुरुङ प्रमुख हो। यसको लम्बाइ २.२३ किलोमिटर छ। उक्त सुरुङको निर्माण भने अहिले प्रारम्भिक चरणमै रहेको छ।

त्यस्तै, करिब एक किलोमिटर लामो देवीचौर र ३९० मिटर लामो सिसौटार सुरुङमा पनि निर्माण कार्य अघि बढिरहेको छ। दुवै सुरुङमा हालसम्म करिब २० मिटर मात्रै खन्ने काम भएको छ। तुलनात्मक रूपमा छोटा भएकाले निर्माणले गति लिएमा यी सुरुङ छिटो सम्पन्न गर्न सकिने आयोजनाको अपेक्षा छ।

मौरी भीरमा निर्माण हुने ५८३ मिटर लामो सुरुङको पोर्टल निर्माणको काम भने भर्खर सम्पन्न भएको छ। यससँगै उक्त सुरुङ खन्ने तयारी अघि बढेको छ।

काठमाडौं–तराई/मधेस द्रुतमार्गको शिलान्यास २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। आयोजना निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको हो।

आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि पछिल्लो पटक यसको समयावधि एकमुष्ट तीन वर्ष थपिएको छ। निर्धारित समयमै आयोजना सम्पन्न गर्ने चुनौती अझै कायमै छ।

फास्ट ट्र्याकको खोकना खण्डमा भने अहिलेसम्म निर्माण सुरु हुन सकेको छैन। खोकनाबाट काठमाडौंको चक्रपथसम्म जोड्ने विषयलाई समेटेर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पुनः परिमार्जन गर्ने तयारी भइरहेको छ।

फास्ट ट्र्याक निर्माणका क्रममा ठूलो संख्यामा पुलसमेत निर्माण गर्नुपर्नेछ। आयोजनामा कुल ८९ वटा पुल निर्माण गर्नुपर्नेछ, जसको संयुक्त लम्बाइ १२.९७ किलोमिटर रहेको छ।

हालसम्म १३ वटा पुल मात्रै निर्माण सम्पन्न भएका छन्। सडक, सुरुङ र पुल निर्माणका कामलाई नेपाली सेनाले विभिन्न १२ वटा प्याकेजमा विभाजन गरी ठेक्का व्यवस्थापन गरेको छ।

आयोजनाको समग्र भौतिक प्रगति भने अझै करिब आधाको हाराहारीमा रहेको छ। सुरुङ निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि पुल, सडक तथा खोकना खण्डका बाँकी काम पूरा गर्न ठूलो चुनौती रहेको छ।

फास्ट ट्र्याक पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौंलाई तराई–मधेससँग छोटो दूरीमा जोड्नेछ। आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकाबाट तराई–मधेससम्मको यात्रा करिब एक घण्टामै गर्न सकिने अपेक्षा गरिएको छ।