
काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा होटल, रेस्टुरेन्ट तथा उद्योगका लागि हुने एलपी ग्यासको बिक्रीमा तत्काल रोक लगाएको छ। घरायसी उपभोक्तालाई ग्यासको आपूर्ति सहज बनाउन व्यावसायिक प्रयोजनका लागि डिपो तथा विक्रेताबाट ग्यास बिक्री नगर्ने निर्णय गरिएको निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पछिल्लो समय सडकमार्ग प्रभावित भएपछि विगतमा जस्तै ठूलो परिमाणमा ग्यासका ट्रक उपत्यका भित्र्याउन कठिन भएको हो। त्यसैले उपलब्ध ग्यास घरायसी उपभोक्तालाई प्राथमिकताका साथ वितरण गर्ने नीति लिइएको उनले बताए।
उनका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब १० चक्के १०० ट्रक बराबर ग्यास खपत हुने गरेको छ। सडकको अवस्थाका कारण त्यति ठूलो संख्यामा ग्यासका सवारीसाधन उपत्यका भित्रिन नसक्ने भएपछि व्यावसायिक उपभोक्ताका लागि वैकल्पिक व्यवस्था गरिएको हो।
अब होटल, रेस्टुरेन्ट तथा उद्योगले आवश्यक ग्यास आफैँ व्यवस्थापन गर्नुपर्नेछ। निगमका अनुसार यस्ता व्यावसायिक प्रयोगकर्ताले आफ्नै सवारीसाधनको व्यवस्था गरी उपत्यकाबाहिर रहेका ग्यास उद्योगबाट ग्यास ढुवानी गरेर ल्याउनुपर्नेछ।
निगमले घरायसी उपभोक्ताको मागलाई पहिलो प्राथमिकतामा राख्दै आपूर्ति व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ। सडक अवस्था सामान्य नभएसम्म व्यावसायिक उपभोक्ताका लागि उपत्यकाका डिपो तथा विक्रेतामार्फत हुने ग्यास बिक्री प्रभावित हुने देखिएको छ।









Facebook Comments