काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष (रेक्टर)सहित विभिन्न ६ विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले पदाधिकारी नियुक्त गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्। सिंह त्रिविको विज्ञान संकायकी प्राध्यापक हुन् भने शिवाकोटी शिक्षा शास्त्र संकायमा कार्यरत प्राध्यापक हुन्।

ad

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. पन्ना थापा नियुक्त भएकी छन्। पोखरा विश्वविद्यालयमा प्रा.डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. तारादत्त भट्टलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको छ।

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदीप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन्।

नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारले मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ ग्रहण समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको सुधार र समग्र विकासका लागि नवनियुक्त पदाधिकारीलाई समन्वय र टिमवर्कमा केन्द्रित भएर काम गर्न निर्देशन दिए।

मन्त्री पोखरेलले उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रार र अन्य पदाधिकारीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। विश्वविद्यालयलाई गुणस्तरीय तथा अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कार्यसम्पादनलाई परिणाममुखी बनाउन नयाँ पदाधिकारीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर अभिवृद्धि, परीक्षा प्रणालीमा सुधार र विश्वविद्यालयको संस्थागत क्षमता बढाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयहरूबीच समन्वय र सहकार्य बढाउँदै गुणस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने धारणा राखे।

कार्यक्रममा पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले आफूलाई दिइएको जिम्मेवारी इमानदारी र प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

शपथ ग्रहण समारोहमा विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो।