काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि परीक्षा आवेदन फारम खुला गरेको छ।

बोर्डका अनुसार नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीले २०८३ कात्तिक १ गतेदेखि मंसिर ८ गतेसम्म आवेदन फारम भर्न सक्नेछन्। परीक्षा आवेदनका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

ad

यसैबीच, शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययन गरिरहेका विद्यार्थीका लागि पनि रजिस्ट्रेशन फारम भर्ने प्रक्रिया सुरु गरिएको छ। सम्बन्धित विद्यार्थीले कात्तिक ९ गतेदेखि मंसिर १३ गतेसम्म रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ।

कक्षा ९ को रजिस्ट्रेशनका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क तोकिएको बोर्डले जनाएको छ।

बोर्डले निर्धारित समयसीमाभित्र विद्यार्थीको परीक्षा आवेदन तथा रजिस्ट्रेशन प्रक्रिया पूरा गर्न सम्बन्धित विद्यालयहरूलाई आग्रह गरेको छ। तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न विद्यालय र विद्यार्थीलाई बोर्डले सूचित गरेको हो।