
काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ।
ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको हो।
कम्पनीका अनुसार रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित समुदायको कठिन अवस्थामा सहयोग गर्ने उद्देश्यले सरकारी उद्धार कोषमा रकम उपलब्ध गराइएको ग्रुपले जनाएको छ।
यसैबीच, सिटी एक्सप्रेसले विपद्का कारण प्रभावित परिवारलाई विदेशमा रहेका आफन्तबाट आर्थिक सहयोग पठाउन सहज होस् भन्ने उद्देश्यले अर्को निर्णयसमेत गरेको छ।
ग्रुपले बाढी आएको दिनदेखि नै विश्वका विभिन्न मुलुकबाट नेपालमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ। विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई छिटो, सहज र पठाइएको सम्पूर्ण रकम प्राप्त हुने गरी आर्थिक सहयोग पुर्याउन सकून् भन्ने उद्देश्यले शुल्क मिनाहा गरिएको कम्पनीको भनाइ छ।
ग्रुपले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।









Facebook Comments