काठमाडौँ। रसुवामा आएको बाढीपछि बेपत्ता भएका पर्यटकमध्ये २ सय ८९ जनाको उद्धार गरिएको छ। तर ५ सय ९१ जना पर्यटक अझै सम्पर्कमा आउन नसकेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार उद्धार हुन बाँकी तथा सम्पर्कविहीन सूचीमा नेपाली र विदेशी दुवै नागरिक छन्।

ad

पर्यटक प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा संकलित विवरणअनुसार उद्धार गरिएकामध्ये भारतीय नागरिकको संख्या सबैभन्दा धेरै छ। हालसम्म भारतका १ सय ८० जना पर्यटकको उद्धार गरिएको छ।

त्यस्तै, चीनका ८९ जना पर्यटक उद्धार भएका छन्। अन्य मुलुकका पर्यटकहरू पनि उद्धार गरिएको बोर्डले जनाएको छ। हालसम्म १२ देशका पर्यटकसँग सम्बन्धित विवरण संकलन गरिएको छ।

पर्यटन बोर्डले उपलब्ध विवरणलाई आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक तथा अद्यावधिक गरिरहेको जनाएको छ।

बाढीपछि तत्कालै सूचना संकलन सुरु
प्रवक्ता शर्माका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै बोर्डले उद्धार तथा पर्यटकको अवस्थाबारे विवरण संकलनलाई प्राथमिकता दिएको थियो।

उनका अनुसार अगस्ट २६ देखि कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने टुर अपरेटर तथा अन्य सम्बन्धित पक्षसँग छलफल गरेर पर्यटकको अवस्थाबारे जानकारी लिन थालिएको थियो।

विभिन्न स्रोतबाट प्राप्त सूचनालाई एकीकृत गर्न गुगल फर्म, इमेल र ह्वाट्सएपलगायत माध्यम प्रयोग गरिएको बोर्डले जनाएको छ।

संकलित विवरणलाई पर्यटक प्रहरीसँग समन्वय गरी प्रमाणीकरण गर्ने कामसमेत भइरहेको छ। बोर्डका अनुसार उद्धार भएका तथा सम्पर्कविहीन पर्यटकको तथ्यांक थप स्पष्ट हुँदै गएसँगै नियमित रूपमा अद्यावधिक गरिनेछ।