काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरणलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले छुट्टै डेडिकेटेड टिम परिचालन गरेको छ।

बाढीबाट बढी प्रभावित रसुवा र नुवाकोटको राहत व्यवस्थापनका लागि दुई जना सहसचिवलाई जिम्मेवारी दिइएको छ। रसुवामा राहत वितरण तथा समन्वयको जिम्मेवारी सहसचिव बासु घिमिरेलाई दिइएको छ भने नुवाकोटको जिम्मेवारी सहसचिव पुष्प शाहीले सम्हालेका छन्।

ad

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार रसुवाका प्रभावित क्षेत्रमा २१ वटा बोलेरो जिपमार्फत राहत सामग्री पठाइएको छ। प्रभावित क्षेत्रमा स्थलमार्गबाट राहत पुर्‍याउन कठिन भएका स्थानमा हेलिकप्टर प्रयोग गर्ने तयारीसमेत गरिएको छ।

उनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले आवश्यक परेको अवस्थामा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न विमानस्थलमा आफ्नो टोली तयारी अवस्थामा राखेको छ।

सहसचिव घिमिरे र शाहीलाई हरेक दिन बिहान र साँझ प्रभावित गाउँपालिका तथा नगरपालिकासँग समन्वय गरी आवश्यकताअनुसार राहत सामग्री पठाउने जिम्मेवारी दिइएको छ। स्थानीय तहबाट आएको माग र आवश्यकताको आधारमा राहत व्यवस्थापन गरिने गृह मन्त्रालयले जनाएको छ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका सबै वडा सडक सञ्जालबाट विच्छेद भएका छन्। गाउँपालिकाको वडा नम्बर १ अझै बाढीको जोखिममा रहेको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

ठूलो हाकु, हाकुबेशी र पाङलिङ क्षेत्रमा राहतको आवश्यकता रहेको बताइएको छ। सडक सम्पर्क अवरुद्ध भएकाले ती क्षेत्रमा स्थलमार्गबाट राहत पुर्‍याउन कठिन छ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार आमाछोदिङ्मो अहिले बाहिरी सम्पर्कबाट लगभग अलग भएको अवस्थामा रहेकाले आवश्यक राहत सामग्री हेलिकप्टरमार्फत पठाउनुपर्ने अवस्था छ। मन्त्रालयले उक्त गाउँपालिकामा तयारी खाद्यान्न पठाइसकेको जनाएको छ।

गोसाईंकुण्डमा खाद्यान्नसँगै सोलार ब्याट्रीको माग
गोसाईंकुण्ड गाउँपालिकाका वडा नम्बर १, २, ३ र ५ मा तयारी खाद्यान्न पठाइएको छ। तर प्रभावित क्षेत्रमा दाल, चामल र सोलार ब्याट्रीको थप आवश्यकता रहेको जिल्ला प्रशासन कार्यालय रसुवाका अधिकारीहरूले बताएका छन्।

सडक मार्गबाट ढुवानी गर्न कठिन भएकाले गोसाईंकुण्डका कतिपय प्रभावित बस्तीमा हेलिकप्टरमार्फत मात्रै राहत पुर्‍याउन सकिने अवस्था रहेको प्रशासनले जनाएको छ।

उत्तरगया गाउँपालिकामा भने टेन्टको अभाव देखिएको छ। त्यहाँ दाल, चामललगायत खाद्यान्न सामग्रीको आवश्यकता रहेको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री पहिचान गरी स्थानीय तहसँगको समन्वयमा राहत पठाउने काम भइरहेको मन्त्रालयले जनाएको छ।

नुवाकोटको तारकेश्वर गाउँपालिकाले वडा नम्बर ४ र ६ का केही प्रभावित क्षेत्रमा राहत सामग्री नपुगेको भन्दै गृह मन्त्रालयसँग सहयोग मागेको छ। गाउँपालिकाले बेलकोटगढी, महादेस्थान र रातमाटे क्षेत्रमा राहत पठाउन आग्रह गरेको छ।

त्यस्तै, किस्पाङ गाउँपालिकाले कम्तीमा ६० वटा सोलारसहितका आवश्यक सामग्री हेलिकप्टरमार्फत पठाइदिन केन्द्र सरकारसँग माग गरेको छ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार रसुवाका विभिन्न प्रभावित स्थानीय तहबाट दाल, चामललगायत खाद्यान्नको माग आएको छ। विद्युत् आपूर्ति प्रभावित भएका क्षेत्रमा सोलार पावरसम्बन्धी सामग्रीको समेत माग भएकाले आवश्यक समन्वय गरी सामग्री पठाउने काम भइरहेको उनले बताए।