काठमाडौं । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन चुनौतीपूर्ण बन्ने गर्छ। यस्तो अवस्थामा शवलाई वैज्ञानिक रूपमा अभिलेखीकरण गरी आवश्यक प्रमाण सुरक्षित राखेर अस्थायी चिहानमा समेत व्यवस्थापन गर्न सकिने फरेन्सिक मेडिसिन विज्ञ प्राडा हरिहर वस्तीले बताएका छन्।

उनका अनुसार ठूलो विपद्का बेला एकैपटक दर्जनौँ वा सयौँ शव प्राप्त हुँदा सबैलाई शवगृह वा चिस्यानयुक्त भण्डारणमा राख्न सम्भव नहुन सक्छ। यस्तो अवस्थामा वैज्ञानिक विधि अपनाएर शवको अस्थायी व्यवस्थापन गर्न सकिन्छ।

ad

‘प्रत्येक शवको वैज्ञानिक रूपमा अभिलेखीकरण गरेर निश्चित नम्बर वा कोड दिनुपर्छ, आवश्यक नमुना संकलन गर्नुपर्छ र गाडिएको स्थानको विवरण सुरक्षित राख्नुपर्छ,’ वस्तीले भने, ‘त्यसो गरियो भने पछि आफन्तले दाबी गर्दा वैज्ञानिक प्रमाणका आधारमा पुनः पहिचान गर्न सकिन्छ।’

वस्तीका अनुसार अस्थायी चिहानमा गाडिएका शवलाई सम्बन्धित व्यवस्थाअनुसार १२ वर्षसम्म पहिचानका लागि सुरक्षित राख्न सकिन्छ। १२ वर्षपछि पनि चिहान तुरुन्त हटाइहाल्ने भन्ने नभएको उनले स्पष्ट पारे। आवश्यक परे लामो समयपछि समेत पहिचानको प्रयास गर्न सकिने उनको भनाइ छ।

शव पहिचानमा फरेन्सिक विज्ञानको भूमिका
फरेन्सिक मेडिसिनलाई मृत शरीर चिर्ने विषयका रूपमा मात्र बुझ्न नहुने वस्ती बताउँछन्। जीवित व्यक्तिको परीक्षणदेखि शव परीक्षणसम्म यसको भूमिका रहने उनको भनाइ छ।

बलात्कार तथा अन्य यौनजन्य अपराधका पीडित वा आरोपितको परीक्षण, कुटपिटबाट लागेको चोटको परीक्षण, उमेर निर्धारण तथा मृत्युको कारण पत्ता लगाउने काम फरेन्सिक मेडिसिनअन्तर्गत पर्छ।

ठूलो विपद्का बेला भने शवको पहिचान र मृत्युको कारण पत्ता लगाउनु मुख्य चुनौती बन्ने उनी बताउँछन्। दुर्घटना, आत्महत्या वा हत्या के भएको हो भन्ने निष्कर्षमा पुग्न शव परीक्षणबाट महत्त्वपूर्ण प्रमाण प्राप्त गर्न सकिने उनको भनाइ छ।

पहिचान नखुलेका शवमा शारीरिक बनोट, अनुहार, पहिरन, गरगहना, घडी तथा अन्य व्यक्तिगत सामग्रीको विवरण संकलन गरिन्छ। शरीरमा रहेका ट्याटु, कोठी, खत, शल्यक्रियाका चिनो तथा अन्य विशेष पहिचानजन्य लक्षणसमेत अभिलेखीकरण गरिन्छ।

त्यस्तै, शवको फोटो, सम्भव भए औँठाछाप र भविष्यमा आवश्यक पर्न सक्ने डीएनए नमुना सुरक्षित राख्नुपर्ने वस्ती बताउँछन्।

आफन्तबाट प्राप्त विवरण पनि महत्त्वपूर्ण
मृतकको पहिचानका लागि आफन्तले उपलब्ध गराउने ‘एन्टिमोर्टम डेटा’ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। मृतकको उचाइ, कपाल, कोठी वा खत, पुराना चोटपटक, शल्यक्रियाका चिनो, हड्डी भाँचिएको इतिहास तथा दाँतको अवस्थालगायतका विवरण यसअन्तर्गत पर्छन्।

शव परीक्षणबाट प्राप्त ‘पोस्टमार्टम डेटा’सँग यी विवरण तुलना गरेर पहिचानको प्रक्रिया अघि बढाइन्छ। सामान्य हुलिया प्रारम्भिक आधार भए पनि भरपर्दो पहिचानका लागि औँठाछाप वा डीएनएजस्ता वैज्ञानिक प्रमाण आवश्यक पर्न सक्ने वस्ती बताउँछन्।

‘औँठाछाप मिल्यो भने पहिचान गर्न सकिन्छ। त्यो पनि सम्भव भएन भने डीएनए परीक्षणमा जानुपर्छ,’ उनले भने।

ठूलो विपद्मा तत्काल पहिचान सम्भव हुँदैन
एकैपटक ठूलो संख्यामा शव प्राप्त हुँदा सबैको पहिचान तत्काल गर्न सम्भव नहुने वस्तीको भनाइ छ। वैज्ञानिक परीक्षण, फोटो तथा विवरण अभिलेखीकरण, औँठाछाप र डीएनए नमुना संकलनलगायतका कामका लागि समय आवश्यक पर्ने उनले बताए।

त्यसैले विपद् आउनुअघि नै पर्याप्त शवगृह, चिस्यानयुक्त भण्डारण, फरेन्सिक जनशक्ति, फिङ्गरप्रिन्ट विशेषज्ञ र डीएनए परीक्षणको क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए।

२०७२ सालको भूकम्पमा पनि ठूलो संख्यामा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको स्मरण गर्दै वस्तीले त्यही अनुभवका आधारमा विपद्पछिको शव व्यवस्थापनसम्बन्धी व्यवस्था समयअनुकूल परिमार्जन गरिएको बताए।

उनका अनुसार ठूलो विपद्का बेला शवलाई आत्तिएर नभई वैज्ञानिक र व्यवस्थित प्रणालीबाट व्यवस्थापन गर्नुपर्छ। प्रत्येक शवको पहिचान, प्रमाणको संरक्षण र सम्मानजनक व्यवस्थापन राज्यको महत्त्वपूर्ण दायित्व भएको उनले बताए।