
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनालाई गम्भीर असर पुर्याएको छ। बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका १३ आयोजनामा क्षति पुगेको छ भने तीमध्ये ११ आयोजनामा कार्यरत ९३४ जना कामदार तथा कर्मचारी सम्पर्कविहीन बनेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गरेको विवरणअनुसार बाढीको सबैभन्दा ठूलो प्रभाव रसुवामा परेको छ। त्यहाँका ६ जलविद्युत् आयोजनामा कार्यरत ७३० जना सम्पर्कविहीन छन्।
माथिल्लो त्रिशूली–१ मा मात्रै ५७६ जनाको अवस्था अज्ञात
रसुवाको निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत ५७६ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना र २० मेगावाटको लाङटाङ खोला आयोजनाका ४२ जना सम्पर्कमा छैनन्।
२२ मेगावाटको चिलिमे आयोजनाका आठ, पाँच मेगावाटको मैलुङ खोला आयोजनाका सात तथा निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनाका चार जना पनि सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ।
नुवाकोटका पाँच आयोजनाबाट २०४ जना बेपत्ता
बाढीको असर नुवाकोटका जलविद्युत् आयोजनामा पनि परेको छ। जिल्लाका पाँच आयोजनामा कार्यरत २०४ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनामा १५८ जना सम्पर्कविहीन छन्। सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनाका ४२ जना पनि सम्पर्कमा आएका छैनन्।
यस्तै, निर्माणाधीन मिडल त्रिशूली गंगा आयोजनाका दुई तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका एक–एक जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ।
२५४ जनाको उद्धार
बाढीपछि प्रभावित आयोजनामा फसेका कामदार तथा कर्मचारीको उद्धार प्रयास भइरहेको छ। हालसम्म माथिल्लो त्रिशूली–१ आयोजनाबाट २५४ जनालाई सकुशल उद्धार गरिएको इप्पानले जनाएको छ।
तर बाढीले सडक तथा यातायात सम्पर्क विच्छेद गरेपछि बाँकी व्यक्तिको खोजी र उद्धारमा कठिनाइ भइरहेको छ। स्थलमार्गबाट उद्धार टोली प्रभावित आयोजनासम्म पुग्न नसक्ने अवस्था रहेकाले हवाई उद्धारको विकल्प आवश्यक देखिएको हो।
विशेषगरी लाङटाङ, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए र चिलिमे आयोजनामा रहेका सम्पर्कविहीनको उद्धारलाई प्राथमिकता दिनुपर्ने जनाइएको छ।
इप्पानले प्रभावित क्षेत्रमा तत्काल हेलिकप्टर परिचालन गरी खोजी तथा उद्धार अभियान अघि बढाउन आवश्यक रहेको जनाएको छ।









Facebook Comments