
काठमाडौँ । रसुवागढी क्षेत्रमा आएको बाढीका कारण प्रमुख सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रामा यात्रुको चाप बढेको छ। स्थलमार्गबाट आवतजावत प्रभावित भएपछि राजधानीबाट बाहिरिने यात्रुहरू हवाई सेवातर्फ केन्द्रित हुँदा कतिपय गन्तव्यका लागि टिकट पाउनसमेत समस्या भएको छ।
गत बुधबार भदौ १० गते रसुवागढी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै राजधानी प्रवेश तथा बाहिरिने प्रमुख राजमार्गहरूमा समेत असर गरेको थियो। सडक यातायात प्रभावित भएपछि हवाई उडानमा यात्रुको माग बढेको हो।
बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न आन्तरिक वायुसेवा कम्पनीहरूले अतिरिक्त उडान थप्न थालेका छन्। बुद्ध एयरले भैरहवा, पोखरा र भरतपुरका लागि नियमित उडानसँगै थप उडान सञ्चालन गरिरहेको जनाएको छ।
बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार यात्रुको माग र प्राप्त निवेदनलाई ध्यानमा राखेर ती तीन गन्तव्यमा अतिरिक्त उडान थपिएको हो। बिहीबार र शुक्रबार भैरहवा, पोखरा र भरतपुरमा एक–एक वटा अतिरिक्त उडान सञ्चालन गरिएको उनले बताए।
हाल पोखरामा दैनिक १३ वटासम्म, भैरहवामा नौवटा र भरतपुरमा पाँचवटासम्म उडान भइरहेको एयरलाइन्सले जनाएको छ। अन्य गन्तव्यमा भने अहिले त्यस्तो ठूलो अतिरिक्त चाप नरहेको र माग बढे आवश्यकताअनुसार उडान थप्न सकिने कर्णले बताए।
यता, यती एयरलाइन्सले पनि यात्रुको मागअनुसार उडान तालिका व्यवस्थापन गरिरहेको जनाएको छ। एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यात्रुको सुविधालाई ध्यानमा राखेर आन्तरिक वायुसेवा कम्पनीहरूले न्यूनतम भाडादरमै उडान सञ्चालन गरिरहेका छन्।
संकटको समयमा हवाई भाडा बढाइएको भन्ने प्रचारप्रति बर्तौलाले असन्तुष्टि जनाएका छन्। उनका अनुसार वायुसेवा कम्पनीहरूले आफ्नो दायित्वअनुसार सेवा दिइरहेका छन् र अहिलेको अवस्थामा यात्रुलाई सहुलियत दिन तोकिएको भाडामा समेत छुट दिइरहेका छन्।
सडकमार्गको आवागमन सहज हुन समय लाग्ने अवस्था रहेकाले केही समय हवाई यात्रामा चाप कायमै रहने देखिएको छ। वायुसेवा कम्पनीहरूले यात्रुको मागअनुसार उडान थप्दै सेवा निरन्तरता दिने जनाएका छन्।









Facebook Comments