काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छोटो अवधिमै ठूलो रकम जुटेको छ । पछिल्लो ३६ घण्टामा मात्रै कोषमा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग प्राप्त भएको हो ।

अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वटा वाणिज्य बैंकमा रहेको कोषको खातामार्फत दाताहरूले उक्त रकम जम्मा गरेका हुन् ।

ad

नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि उद्धार र राहतका लागि सरकारी कोषमा सहयोग जुटाउने क्रम तीव्र भएको हो ।

सरकारले उद्धार कोषमा रकम संकलन र त्यसको समन्वय गर्न अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ । संस्थागत रूपमा एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वयं रकम ग्रहण गरिरहेका छन् ।

व्यक्तिगत रूपमा नगद सहयोग गर्न चाहने दाताले अर्थ मन्त्रालयमै पुगेर रकम हस्तान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

पछिल्लो सहयोगसहित कोषमा रहेको कुल बचत ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौज्दात थियो ।

यसअघि बिहीबार ६ घण्टाको अवधिमा मात्रै नेपालका निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । कोषमा प्राप्त यो रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश नभएको अर्थ मन्त्रालयले जनाएको छ ।