
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि बैंक तथा वित्तीय संस्थामा कार्यरत २७ जना कर्मचारी तथा सुरक्षा गार्ड अझै सम्पर्कविहीन रहेका छन्।
स्याफ्रुबेसी, मैलुङ, वेत्रावतीलगायतका क्षेत्रमा रहेका विभिन्न बैंकका शाखामा कार्यरत कर्मचारी तथा सुरक्षा गार्डसँग सम्पर्क हुन नसकेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए।
उनका अनुसार बुधबार बेलुकासम्म २६ जना बैंक कर्मचारी सम्पर्कविहीन थिए। त्यसपछि चार जना कर्मचारी सम्पर्कमा आए पनि केही सुरक्षा गार्डसँग सम्पर्क हुन नसकेका कारण अहिले पनि २७ जना सम्पर्कविहीन रहेको उनले बताए।
सम्पर्कविहीन कर्मचारी तथा सुरक्षा गार्डको खोजीका लागि नेपाल बैंकर्स संघले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए।
सम्बन्धित बैंकहरूले उपलब्ध गराएको विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७, माछापुच्छ्रे बैंकका ५, एनएमबी बैंकका ४, सानिमा बैंकका २, प्रभु बैंकका ४, लक्ष्मी सनराइज बैंकका ४ र हिमालयन बैंकका १ जना सम्पर्कविहीन छन्।
बाढीले रसुवामा बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्याएको छ। हालसम्म ९ वटा वाणिज्य बैंकका ९ शाखासहित बैंक तथा वित्तीय संस्थाका करिब एक दर्जन शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।









Facebook Comments