काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीपछि प्रभावित क्षेत्रमा रहेका १२१ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म उद्धार गरिएकामध्ये सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको छ। भारतका ८५ जना पर्यटक तथा यात्रुको उद्धार गरिएको बोर्डले जनाएको छ।

ad

त्यसैगरी चीनका १६, दक्षिण कोरियाका ९, अमेरिका र रुसका २–२, इटालीका २ तथा बुल्गेरिया र स्वीट्जरल्यान्डका १–१ जना विदेशीको उद्धार गरिएको छ। उद्धार गरिएका थप ३ जनाको राष्ट्रियता भने अझै खुल्न सकेको छैन।

बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखासहितका क्षेत्र प्रभावित भएका छन्। बाढीका कारण विभिन्न स्थानमा पर्यटक तथा यात्रु अलपत्र परेपछि उनीहरूको अवस्था पहिचान गरी सुरक्षित स्थानमा लैजाने कामलाई तीव्रता दिइएको छ।

प्रभावित क्षेत्रका साथै ती क्षेत्र हुँदै यात्रा गरिरहेका विदेशी पर्यटकको सुरक्षा अवस्थाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सम्बन्धित निकायले समन्वय गरिरहेका छन्।

बाढीबाट प्रभावित तथा अलपत्र परेका नागरिकको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम पनि जारी रहेको पर्यटन बोर्डले जनाएको छ।