काठमाडौं । बाढीका कारण पृथ्वी राजमार्गसहित धादिङ, रसुवा र चितवनतर्फको सडक तथा नदी क्षेत्रमा जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनलाई आज राति पनि नागढुंगा नाका पार गर्न नदिइने भएको छ।

तिब्बततर्फबाट आएको बाढीका कारण धादिङको बैरेनीलगायत विभिन्न स्थानमा सडक अवरुद्ध भएको र त्रिशूली नदीमा पानीको बहाव तथा बाढीको जोखिम कायमै रहेकाले सवारी आवागमनमा रोक लगाइएको हो।

ad

सडक अवरोध हटाउन समय लाग्ने देखिएपछि काठमाडौं उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनलाई बुधबार बिहानैदेखि रोकिएको थियो। जोखिमको अवस्था हेरेर रातभर पनि आवागमन खुला नगरिने प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी साधनलाई दिउँसैदेखि काठमाडौंमै रोकिएको छ। नागढुंगा र भीमढुंगा नाका हुँदै उपत्यकाबाहिर जाने सवारीलाई समेत ती नाका पार गर्न दिइएको छैन।

बाढी तथा नदीको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवसायीलाई धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारी सञ्चालन नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रहरीले सडक तथा नदीको अवस्था सामान्य भएपछि मात्रै सवारी आवागमन खुलाउने जनाएको छ। त्यसबेलासम्म यात्रुलाई अनावश्यक यात्रा नगर्न र वैकल्पिक योजना बनाउन आग्रह गरिएको छ।