काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि ठूलो संख्यामा पर्यटक सम्पर्कविहीन बनेका छन्। पर्यटन विभागका अनुसार आन्तरिक र विदेशी गरी ६६८ जना पर्यटकको अवस्था अझै अज्ञात रहेको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन पर्यटकमध्ये ३२७ जना महिला छन्। हराइरहेकामा विभिन्न देशका नागरिकसँगै नेपाली पर्यटकसमेत छन्।

ad

राष्ट्रियता अनुसार सबैभन्दा धेरै भारतका १७८ जना पर्यटक सम्पर्कविहीन रहेको विभागले जनाएको छ। त्यस्तै, १२७ नेपाली पर्यटकको पनि अवस्था पत्ता लाग्न सकेको छैन।

यसैगरी, सम्पर्कविहीन विदेशी पर्यटकमा अमेरिकाका ६५, अस्ट्रेलियाका ३५ र क्यानडाका २५ जना रहेका छन्।

भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ रहेका स्थानीय तथा पर्यटकको खोजी र उद्धार कार्य तीव्र पारिएको छ।

पर्यटकको विस्तृत विवरण संकलन तथा उनीहरूको अवस्थाबारे यकिन गर्ने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ। सम्पर्कविहीनमध्ये कति जना सुरक्षित स्थानमा पुगेका छन् वा कति जना उद्धारको पर्खाइमा छन् भन्नेबारे थप विवरण आउन बाँकी छ।