काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतमा प्रभावकारी रूपमा जुट्न सरकारसँग आग्रह गरेको छ।

महासंघका अनुसार बाढीका कारण बस्ती, बजार, सडक तथा पुलसँगै सरकारी र निजी संरचना, व्यावसायिक प्रतिष्ठान, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। केही नागरिक र सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिनुपर्ने महासंघको भनाइ छ।

ad

महासंघले बाढी प्रभावित क्षेत्रमा फसेका नागरिक तथा व्यवसायीलाई तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपडा, अस्थायी आवासलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

भविष्यमा यस्ता विपद्बाट हुने क्षति कम गर्न भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती तथा व्यापारिक क्षेत्रमा भरपर्दो पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ।

राहत तथा पुनःस्थापनामा निजी क्षेत्रको भूमिका प्रभावकारी बनाउन महासंघका प्रदेश, जिल्ला र स्थानीय तहका प्रतिनिधिसँग आवश्यक समन्वय गर्न सरकारलाई आग्रह गरिएको छ।

विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिक, उद्योगी–व्यवसायी र उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउँदै महासंघले सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबीच समन्वय र सहकार्य अपरिहार्य रहेको जनाएको छ।

महासंघले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग तथा समन्वय निरन्तर गर्ने प्रतिबद्धता पनि जनाएको छ।