काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भदौ १० गते आएको बाढीपछि मानसरोवर यात्रामा गएका ४० वटा यात्रुवाहक सवारी साधन अझै सम्पर्कमा आउन नसकेको जनाएको छ।

महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार अरनिको सेवा प्रालिका २५ वटा बस र नमस्ते पासाङ ल्हामु यातायात कम्पनीका १५ वटा सवारी साधनको अवस्थाबारे यकिन विवरण प्राप्त हुन सकेको छैन।

ad

सिटौलाले बाढीपछि सम्पर्कविहीन सवारी साधन तथा त्यसमा सवार यात्रुको प्रारम्भिक विवरण संकलन गर्ने काम भइरहेको बताए। उनका अनुसार अरनिको सेवाबाट तीर्थयात्री बोकेर मानसरोवरतर्फ गएका २५ वटा बसको अवस्था अझै अज्ञात छ।

अरनिको यातायातका चालक र सहचालकसहित ५० जना बस कर्मचारी पनि सम्पर्कविहीन रहेको महासंघले जनाएको छ। तीमध्ये तीन जना भने सम्पर्कमा आएका छन्।

यस्तै, नमस्ते पासाङ ल्हामु यातायात कम्पनीअन्तर्गत सार्वजनिक सवारी सञ्चालन गर्दै आएका सवारीधनीहरू पनि बाढीबाट ठूलो क्षतिमा परेको सिटौलाको भनाइ छ।

महासंघले सम्पर्कविहीन सवारी तथा यात्रुको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।