बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि बिवाइडी र नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ७ करोड रूपैयाँ सहयोग गर्ने भएका छन्। उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दिने घोषणा गरेका हुन्।

रकम सरकारको आधिकारिक संयन्त्रमार्फत राहत र पुनर्स्थापनामा परिचालन गरिने कम्पनीले जनाएको छ। सहयोग रकम उद्धार, उपचार, तत्काल राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा उपयोग हुनेछ।

ad

बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सुएलियाङले विपद्का कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बाढी प्रभावित परिवार र समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

रसुवा नेपाल–चीन जोड्ने महत्वपूर्ण नाका हो। यो व्यापारिक मार्ग पनि हो। नेपालमा बिवाइडीका गाडी आयात हुने प्रमुख मार्गसमेत रसुवा नै हो।

बिवाइडी र साइमेक्सले नेपालमा विद्युतीय सवारीको प्रवर्द्धनसँगै विपदका बेला देश र नागरिकको साथमा उभिनु आफ्नो साझा जिम्मेवारी भएको बताएका छन्।