ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक वर्षको अवधिमा १ हजार ३३१ विदेशी पर्यटक पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मुलुकबाट आएका पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन्।

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार भ्रमण गर्ने विदेशीमध्ये ७९ जना सार्क राष्ट्रका र १ हजार २५२ जना अन्य मुलुकका पर्यटक छन्।

ad

सार्क राष्ट्रबाट आएका पर्यटकमा ११ महिला र ६८ पुरुष छन्। अन्य मुलुकका पर्यटकतर्फ ४३९ महिला र ८१३ पुरुष रहेको कार्यालयले जनाएको छ।

सोही अवधिमा ४९ जना नेपाली पर्यटकले पनि कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन्। नेपाली पर्यटकमा ४८ पुरुष र एक महिला रहेको कार्यालयको तथ्याङ्क छ।

महिनागत रूपमा हेर्दा कञ्चनजङ्घा क्षेत्रमा सबैभन्दा बढी पर्यटक कात्तिकमा पुगेका छन्। उक्त महिनामा मात्रै ६०७ विदेशी पर्यटकले क्षेत्रको भ्रमण गरेका थिए। त्यसैगरी भदौमा १५, असोजमा २९३, मङ्सिरमा ७८, चैतमा १४३, वैशाखमा २०४ र जेठमा ४० जना पर्यटक पुगेका थिए।

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कञ्चनजङ्घा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या १ हजार ३८० थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष पर्यटकको सङ्ख्या केही घटेको देखिएको छ।

पर्यटकबाट कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले गत आर्थिक वर्षमा २७ लाख २८ हजार ४०० रुपैयाँ भ्रमण शुल्कबापत राजस्व सङ्कलन गरेको छ।

कञ्चनजङ्घा क्षेत्र हिमाली प्राकृतिक सौन्दर्य, जैविक विविधता र पदयात्राका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ। यहाँ आउने अधिकांश पर्यटक कञ्चनजङ्घा आधार शिविर तथा आसपासका पदमार्गमा पदयात्रा गर्ने गर्छन्।