काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियासँग जोडिएको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम हटाउने भएका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलपछि ती कम्पनीलाई एफडब्लूसीएमएसबाट बाहिरिने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिए।

ad

मलेसियाले नेपाली श्रमिक लैजान अनुमति पाएका करिब १ हजार २०० म्यानपावर कम्पनीमध्ये २५ कम्पनीलाई मात्रै एफडब्लूसीएमएसमा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत गरेको थियो। सीमित कम्पनीलाई मात्र मलेसियाली रोजगारदातासँग प्रत्यक्ष सम्पर्कको अवसर दिइएपछि वैदेशिक रोजगार व्यवसायीहरूले त्यसको विरोध गर्दै आएका थिए।

व्यवसायीहरूले यस्तो व्यवस्था सिन्डिकेटतर्फ उन्मुख रहेको र यसले मलेसियाको रोजगारीमा सीमित कम्पनीको मात्र पहुँच स्थापित गर्ने भन्दै असन्तुष्टि जनाएका थिए। विवाद बढेपछि वैदेशिक रोजगार व्यवसायी संघले एफडब्लूसीएमएसमा सूचीकृत २५ कम्पनीलाई संघको सदस्यताबाट निलम्बन गरेको थियो। उनीहरूमाथि आवश्यक कारबाही गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत संघले गरेको थियो।

पछिल्लो छलफलपछि भने एफडब्लूसीएमएसमा सूचीकृत कम्पनीहरू आफैँ प्रणालीबाट बाहिरिने निष्कर्षमा पुगेका हुन्। सीमित कम्पनीमार्फत मात्र नेपाली श्रमिक मलेसिया पठाउने व्यवस्था दीर्घकालीन रूपमा आफ्नै हितमा समेत नहुने निष्कर्ष निकालेर नाम हटाउन सहमत भएको डाँगीले बताए।

अब २५ वटै कम्पनीले एफडब्लूसीएमएसबाट नाम हटाउने प्रतिबद्धतासहितको पत्र वैदेशिक रोजगार व्यवसायी संघलाई बुझाउनुपर्ने भएको छ। मन्त्रालयले प्रणालीमा सूचीकृत सबै कम्पनीलाई छलफलका लागि बोलाएको थियो।

छलफलका क्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूतसँग श्रम आप्रवासनसँग सम्बन्धित विषयमा समेत संवाद गरे। श्रम आप्रवासनसँग जोडिएका समस्या दुई देशबीचको संवाद र आपसी सहमतिबाट समाधान गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए।

एफडब्लूसीएमएसमा सीमित नेपाली म्यानपावर कम्पनीलाई मात्र प्राथमिकता दिइएको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो। २५ कम्पनी प्रणालीबाट बाहिरिने सहमतिसँगै उक्त विवाद तत्कालका लागि समाधानतर्फ अघि बढेको व्यवसायीहरूले बताएका छन्।