
काठमाडौं । देशका केही स्थानमा एलपी ग्यास अभाव देखिएपछि उपभोक्तामा बढेको चिन्ताबीच नेपाल आयल निगमले पछिल्लो पाँच महिनाको आयात तथा बिक्री–वितरण तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार पछिल्लो महिना श्रावणमा पाँच महिनायताकै सबैभन्दा धेरै एलपी ग्यास आयात भएको छ।
निगमका अनुसार श्रावणमा ५० हजार ३९६.३५ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो पछिल्लो पाँच महिनामध्ये सबैभन्दा ठूलो परिमाण हो।
निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार श्रावणमा मात्रै ४० लाखभन्दा बढी १४.२ किलोका ग्यास सिलिन्डर बजारमा पुगेका छन्। अघिल्लो महिना असारमा ४४ हजार ४४४.४० मेट्रिक टन ग्यास आयात भएको थियो। त्यसको तुलनामा श्रावणमा आयात करिब ६ हजार मेट्रिक टनले बढेको छ। निगमका अनुसार श्रावणमा असारको तुलनामा करिब ९ लाख सिलिन्डर बढी बजारमा गएको छ।
निगमको पाँच महिनाको विवरण हेर्दा एलपी ग्यास आयातमा उतारचढाव भए पनि पछिल्ला दुई महिनामा उल्लेख्य वृद्धि भएको देखिन्छ। २०८२ चैतमा ३५ हजार ७९९.४५ मेट्रिक टन ग्यास आयात भएको थियो। त्यस महिनामा करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बजारमा पठाइएको निगमले जनाएको छ।
त्यसपछि २०८३ वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन र जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन ग्यास आयात भएको थियो।असारमा भने आयात बढेर ४४ हजार ४४४.४० मेट्रिक टन पुगेको थियो। श्रावणमा थप वृद्धि हुँदै यो परिमाण ५० हजार ३९६.३५ मेट्रिक टन पुगेको हो।
निगमले १४.२ किलोका एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण नियमित रहेको जनाएको छ। पछिल्लो समय आयात तथा बजारमा पठाइने सिलिन्डरको संख्या घट्नुको सट्टा बढेको निगमको तथ्यांकले देखाएको छ। निगमले आगामी दिनमा पनि एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रहने जनाएको छ।
ग्यासको आपूर्ति नियमित रहेकाले अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न निगमले आग्रह गरेको छ। निगमका अनुसार उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्दा वास्तविक अभाव नभए पनि बजारमा कृत्रिम अभावको अवस्था सिर्जना हुन सक्छ। त्यसैले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ।
पछिल्लो पाँच महिनाको तथ्यांकले ग्यासको आयात र बिक्री–वितरणमा कमी आएको भन्दा पनि श्रावणमा यसको मात्रा उल्लेख्य रूपमा बढेको देखाएको निगमको भनाइ छ।









Facebook Comments