काठमाडौँ । श्रम अधिकार संरक्षण तथा कार्यस्थलमा सुरक्षा मापदण्डको कार्यान्वयनका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ। विभागको साउन महिनाको सुशासन कार्यसम्पादन सूचकाङ्क तथा प्रगति विवरणअनुसार श्रमिकको पारिश्रमिक भुक्तानीदेखि बालश्रम नियन्त्रण र श्रम विवाद समाधानसम्मका क्षेत्रमा विभागले सक्रियता बढाएको हो।

विभागका अनुसार साउनमा मेलमिलाप, आदेश तथा निर्देशनमार्फत श्रमिकलाई १ करोड ४० लाख ५२ हजार ८१५ रुपैयाँ पारिश्रमिक भुक्तानी गराइएको छ। श्रमिक र प्रतिष्ठानबीचको आपसी सहमतिबाट मात्रै ७२ लाख ७१ हजार ९२७ रुपैयाँ भुक्तानी भएको विभागले जनाएको छ।

ad

त्यस्तै, विभिन्न शीर्षकमा दण्ड, जरिवाना तथा क्षतिपूर्तिबापत ७१ लाख ३५ हजार ३७१ रुपैयाँ असुली गर्ने निर्णय गरिएको छ।

बालश्रम नियन्त्रणमा ३७१ निरीक्षण

बालश्रम उन्मूलनलाई प्राथमिकतामा राख्दै विभागले साउनमा देशभर ३७१ वटा बालश्रमसम्बन्धी निरीक्षण गरेको छ। निरीक्षणका क्रममा बालश्रम गराएको पाइएका विभिन्न प्रतिष्ठान तथा व्यक्तिलाई २ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

श्रम ऐन तथा व्यवसायजन्य सुरक्षा मापदण्डको पालना भए–नभएको यकिन गर्न पनि विभागले अनुगमनलाई निरन्तरता दिएको छ। साउनमा ३७१ वटा प्रतिष्ठान र १४२ वटा ब्वायलरको निरीक्षण गरिएको छ। यसबाहेक २१ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको समेत निरीक्षण गरिएको विभागले जनाएको छ।

३२६ उजुरी दर्ता, ८१ विवाद समाधान

साउन महिनामा श्रमिकका तर्फबाट ३०० वटा व्यक्तिगत दाबी उजुरी र २६ वटा सामूहिक दाबी उजुरी दर्ता भएका छन्। तीमध्ये ८१ वटा श्रम विवाद आपसी समझदारी तथा कानुनी प्रक्रियामार्फत टुंग्याइएको विभागको विवरणमा उल्लेख छ।

यद्यपि, सोही अवधिमा एउटा औद्योगिक दुर्घटना पनि दर्ता भएको छ। दुर्घटनामा एक श्रमिकको मृत्यु भएको विभागले जनाएको छ।

सेवा प्रवाहमा ‘पहिले आउनेलाई पहिले सेवा’

विभागले श्रमसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले विभिन्न सुशासनका सूचक लागू गरेको जनाएको छ।

गुनासो व्यवस्थापनमा सेवाग्राहीलाई ‘पहिले आउनेलाई पहिले सेवा’को आधारमा सेवा दिने व्यवस्था गरिएको छ। कार्यालयमा उजुरी पेटिका राख्ने र त्यसको नियमित निरीक्षण गर्ने, मासिक छलफल आयोजना गर्ने तथा सेवाग्राहीका गुनासा सुन्न प्रभावकारी जनसम्पर्क गर्ने अभ्याससमेत अघि बढाइएको विभागको भनाइ छ।

विभागले सेवाग्राहीसँग शिष्ट र मर्यादित व्यवहार कायम गर्दै श्रम अधिकार संरक्षण तथा कार्यस्थलको सुरक्षा सुनिश्चित गर्ने कामलाई आगामी दिनमा पनि प्राथमिकतामा राख्ने जनाएको छ।