
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले बजारमा ग्यासको अभाव नरहेको जनाएको छ। सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले सामान्य मागको तुलनामा करिब १५ प्रतिशत बढी ग्यास नेपाल भित्रिरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चित नगर्न आग्रह गरेका छन्।
शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले नेपाल आयल निगम, मन्त्रालय र ग्यास उद्योग सङ्घबीचको समन्वयमा देशभर नियमित आपूर्ति भइरहेको जानकारी दिए।
उनका अनुसार अहिले दैनिक करिब १२० बुलेट एलपी ग्यास नेपाल भित्रिरहेको छ। यो सामान्य अवस्थाको बजार मागभन्दा करिब १५ प्रतिशत बढी भएको उनले बताए।
चन्दले ताप्लेजुङदेखि दार्चुलासम्म ग्यास आपूर्ति भइरहेको उल्लेख गर्दै बजारमा अभाव देखिनुको मुख्य कारण वास्तविक आपूर्ति समस्या नभई उपभोक्तामा बढेको त्रास र सञ्चय गर्ने प्रवृत्ति भएको बताए।
उनका अनुसार ग्यास नपाइएला भन्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर दिएर भरिएको सिलिन्डर लिनुको सट्टा थप सिलिन्डर जम्मा गर्न थालेका छन्। यही कारण केही स्थानमा माग अस्वाभाविक रूपमा बढ्दा ग्यास अभावजस्तो अवस्था देखिएको उनको भनाइ छ।
ग्यास बिक्रेताबाट पनि नयाँ सिलिन्डर खरिद गर्नेभन्दा ग्यासको स्टक कहिले आउँछ भनेर सोध्ने उपभोक्ताको संख्या बढेको जानकारी आएको चन्दले बताए।
ग्यास वितरणलाई पारदर्शी बनाउन दैनिक रूपमा कुन उद्योगबाट कुन बिक्रेतालाई कति ग्यास पठाइयो भन्ने विवरण नेपाल आयल निगम र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने गरिएको उनले जानकारी दिए। सोही विवरणका आधारमा जिल्लास्तरमा अनुगमनसमेत भइरहेको उनको भनाइ छ।
चन्दले ग्यास आयातमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरे।
उनले भने, “ग्यासको आयातमा कुनै रोकावट छैन, नियमित रूपमा आइरहेको छ। त्यसैले उपभोक्ताले डराउनुपर्ने अवस्था छैन।”
अनावश्यक रूपमा ग्यास सञ्चित नगर्दा विद्यार्थी, डेरामा बस्ने तथा असहाय उपभोक्ताले आवश्यकताअनुसार सहजै ग्यास प्राप्त गर्न सक्ने सङ्घको भनाइ छ।









Facebook Comments