
काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा गत आर्थिक वर्ष उल्लेख्य सुधार देखिएको छ। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आठवटै राष्ट्रियस्तरका विकास बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.८२ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षमा यी आठ बैंकले कुल ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५ अर्ब २८ करोड ५७ लाख ४५ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा सबै बैंकको नाफा बढेको छ। कुल नाफामा गरिमा विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँको तुलनामा यो ३५.३४ प्रतिशतको वृद्धि हो।
नाफा वृद्धिको दरमा भने ज्योति विकास बैंक सबैभन्दा अगाडि छ। बैंकको नाफा एक वर्षमै ९०३.७४ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा ज्योति विकास बैंकको खुद नाफा करिब १० करोड रुपैयाँ मात्र थियो।
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको १ अर्ब ३५ करोड ३६ लाख रुपैयाँको तुलनामा बैंकको नाफा १२.४४ प्रतिशतले बढेको हो।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकको खुद नाफा ८२.९७ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ६४ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ३३.५१ प्रतिशतले बढेको हो।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा पनि बढेको छ। बैंकले गत आर्थिक वर्षमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ६० करोड ६६ लाख रुपैयाँभन्दा ४६.६९ प्रतिशत बढी हो।
लुम्बिनी विकास बैंकको नाफामा पनि ठूलो सुधार देखिएको छ। बैंकले गत आर्थिक वर्षमा ८५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा २४ करोड ११ लाख रुपैयाँ रहेको नाफा एक वर्षमा २५२.९६ प्रतिशतले बढेको हो।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ४२ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा आफ्नो नाफा ४८.४६ प्रतिशतले बढाएको हो।
यसरी हेर्दा गत आर्थिक वर्ष राष्ट्रियस्तरका विकास बैंकहरूका लागि नाफाका दृष्टिले सुधारिएको वर्ष बनेको देखिन्छ। आठवटै बैंक नाफा बढाउन सफल भए पनि नाफाको आकार र वृद्धिदरमा भने बैंकहरूबीच ठूलो अन्तर देखिएको छ।









Facebook Comments