
काठमाडौं । चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका तातोपानी २६ दिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि नाकाबाट हुने आयात–निर्यात लगभग ठप्प बनेको हो।
नेपाल र चीन जोड्ने २६ किलोमिटर लामो बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत भोटेकोसी गाउँपालिका–२ को कोदारीस्थित ‘इको’ क्षेत्रमा असार ३१ गते पहिरो गएर सडक भासिएपछि दुई देशबीचको सडक सम्पर्क प्रभावित भएको हो। त्यसपछि अरनिको राजमार्गको डाक्लाङ क्षेत्रमा साउन ३ गतेदेखि र लिपिङ बजारनजिक साउन १९ गतेदेखि पनि सडक अवरुद्ध भएको छ।
लगातारको अवरोधका कारण चीनबाट नेपालतर्फ आउने तथा नेपालबाट चीनतर्फ जाने मालवस्तुको ढुवानी प्रभावित भएको छ। भन्सार कार्यालयका अनुसार चीनको सिगर्चे, ल्हासा र न्यालमलगायत क्षेत्रमा करिब ५०० कन्टेनर रोकिएका छन्। नेपालतर्फ कोदारी क्षेत्रमा थप ४६ कन्टेनर रोकिएका छन्। ती कन्टेनरमा दसैँ–तिहारका लागि ल्याइएका सामानदेखि स्याउ, लसुन, उद्योग तथा जलविद्युत् आयोजनाका सामग्रीसम्म रहेका छन्।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीका अनुसार सडक अवरुद्ध भएपछि भन्सारको नियमित कामसमेत प्रभावित भएको छ। सरकारले चालु आर्थिक वर्षमा तातोपानी भन्सारबाट २५ अर्ब २५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भए पनि नाका नै सञ्चालनमा नआउँदा राजस्व संकलनमा समेत असर पर्ने देखिएको छ।
तातोपानी सुक्खा बन्दरगाह रहेको लार्चा क्षेत्रमा समेत माथिबाट पहिरो झर्ने जोखिम कायम छ। कोदारी, डाक्लाङलगायत क्षेत्रमा पहिरो जाने क्रम नरोकिएपछि सडक खुलाउने काम चुनौतीपूर्ण बनेको अधिकारीहरूको भनाइ छ।
नाका बन्द हुँदा तातोपानीबाट व्यापार गर्ने व्यवसायी सबैभन्दा बढी प्रभावित भएका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार व्यापार ठप्प हुँदा व्यवसायी आर्थिक संकटमा परेका छन्।
नाका प्रभावित भएपछि करिब ६४० मजदुर तथा ट्रान्सपोर्ट र भन्सारसम्बन्धी काममा संलग्न करिब ३०० कामदारको रोजगारीसमेत प्रभावित भएको व्यवसायीले बताएका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायत संस्थाले उत्तरी नाका तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।
तातोपानी नाकाबाट तयारी पोशाक, जलविद्युत् आयोजनामा प्रयोग हुने हेभी उपकरण, कृषि औजार, जुत्ता–चप्पल, ब्याग, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, शृङ्गार सामग्री, बीउबिजन, विद्युतीय सवारीसाधन, कम्प्युटरका पार्टपुर्जा तथा विभिन्न उद्योगका कच्चा पदार्थ आयात हुने गरेका छन्। चीनबाट आयात हुने उपभोग्य वस्तुको ठूलो हिस्सा यही नाकाबाट आउने भएकाले यसको अवरोधको प्रत्यक्ष असर नेपाली बजारमा समेत पर्न थालेको व्यवसायीको भनाइ छ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले वर्षायाम सुरु हुनेबित्तिकै नाका प्रभावित हुने समस्या दोहोरिँदै आएको बताए। उनका अनुसार सडक अवरुद्ध हुँदा व्यवसायीले हरेक वर्ष ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ।
चाडपर्व नजिकिँदै गर्दा आयातको चाप बढ्ने समयमा नाका बन्द भएपछि दसैँ–तिहार लक्षित सामानसमेत समयमा नेपाल ल्याउन नसकिने अवस्था बनेको छ। गत वर्ष पनि असारदेखि असोजसम्म यही क्षेत्रमा सडक अवरुद्ध हुँदा चाडपर्वका लागि ल्याइएका सामान लामो समय चीनमै रोकिएका थिए।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले डाक्लाङ, घट्टेखोला र इको क्षेत्रमा गएको पहिरोका कारण आवतजावतमा समस्या भएको बताए।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार इको क्षेत्रमा सडक भासिएको अवस्था भएकाले सामान्य रूपमा मेसिन र जनशक्ति परिचालन गरेर तत्काल सडक निर्माण गर्न कठिन छ। भासिएको क्षेत्रमाथि कोदारी थामी गाउँ रहेको र त्यहाँ करिब ६० परिवार बसोबास गर्ने भएकाले सडक निर्माणका क्रममा बस्तीमा समेत जोखिम उत्पन्न हुन सक्ने उनले बताए।
उनका अनुसार चारकिलो क्षेत्रमा गएको पहिरोमाथि पनि पन्थली गाउँ रहेको छ, जहाँ ५० भन्दा बढी घर छन्। ठूला मेसिन प्रयोग गर्दा बस्तीमा थप जोखिम हुनसक्ने भएकाले सडक मर्मत चुनौतीपूर्ण बनेको छ।
इको पहिरो नियन्त्रणका लागि चिनियाँ अनुदान प्राप्त भए पनि समयमै काम सुरु हुन नसक्दा अहिले समस्या झन् जटिल बनेको गाउँपालिकाको भनाइ छ।
भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले वर्षा सुरु हुनेबित्तिकै माथिबाट लेदो बगेर सडक बगाउने समस्या हरेक वर्ष दोहोरिने बताए। पहिरो गएपछि मात्र सडक मर्मत सुरु गर्ने प्रवृत्तिले समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको उनको भनाइ छ।
तातोपानी नाका हरेक वर्ष वर्षायाममा पहिरोका कारण प्रभावित हुँदै आए पनि दीर्घकालीन समाधानको काम प्रभावकारी रूपमा अघि बढ्न नसक्दा नेपाल–चीन व्यापार र सीमावर्ती क्षेत्रको जनजीवनमा बारम्बार असर पर्दै आएको छ।









Facebook Comments