काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई चार वर्षका लागि नियुक्त गरेका हुन्।

शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपति बराललाई नियुक्तिपत्र हस्तान्तरण गरे।

ad

उपकुलपति छनोटका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिस सूचीबाट शाहले बराललाई उपकुलपति नियुक्त गरेका हुन्।

नयाँ उपकुलपति छनोटका लागि गत जेठ १९ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले सिफारिस समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना तथा काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष एवं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा सदस्य थिए।

बराल काठमाडौं विश्वविद्यालयकै मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। विश्वविद्यालयमा अध्ययन पूरा गरेर त्यही संस्थाको उपकुलपति बन्ने उनी पहिलो व्यक्ति बनेका छन्। उनी केयूको इन्जिनियरिङ संकायका दोस्रो ब्याचका विद्यार्थीसमेत हुन्।

उनले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन्। त्यसपछि जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्।

ऊर्जा तथा इन्धन प्रविधि, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्स उनका प्रमुख अध्ययन तथा अनुसन्धानका क्षेत्र हुन्।

विश्वविद्यालयको शैक्षिक यात्रामा उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका बरालले अब चार वर्ष काठमाडौं विश्वविद्यालयको नेतृत्व सम्हाल्नेछन्।