
काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले बुधबार बयान र थुनछेक बहसपछि दुवैलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको हो।
भट्ट र अग्रवाल यसअघि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा थुनामा छन्। सोही क्रममा उनीहरूविरुद्ध दायर गरिएको अर्को मुद्दामा बुधबार विशेष अदालतमा उपस्थित गराइएको थियो।
अदालतमा बयानपछि दुवै पक्षका कानुन व्यवसायीले थुनछेक बहस गरेका थिए। बहस सकिएपछि इजलासले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
भट्ट र अग्रवालसँगै दायर गरिएको दोस्रो सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेलको नामसमेत जोडिएको थियो।
तर पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने आदेश गरेको छ।
यससँगै एउटै मुद्दामा प्रतिवादी बनाइएका भट्ट र अग्रवाल थुनामै रहने भएका छन् भने पौडेल भने साधारण तारिखमा बाहिर रहेर मुद्दाको सामना गर्नेछन्।









Facebook Comments