काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

उनले पेट्रोल पम्प, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरले कालोबजारी गरेको प्रमाणित भए इजाजतपत्र खारेज गर्नेसम्मको कारबाही गर्नुपर्ने बताएका हुन्।

ad

सिंहदरबारमा बुधबार आयोजित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै अन्सारीले उपभोक्तालाई कृत्रिम अभाव सिर्जना गरेर दुःख दिने तथा मूल्य बढाउने गतिविधि स्वीकार्य नहुने बताए।

उनले कालोबजारीमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सरकारी निकायलाई आग्रह गरे।

अन्सारीले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक कानुनी सुधारको काम अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।

पेट्रोलियम पदार्थसम्बन्धी छुट्टै कानुनी व्यवस्था तथा कालोबजारी नियन्त्रणका लागि आवश्यक विधेयकको तयारी गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।

समितिले यसअघि पनि सरोकारवाला निकायलाई बोलाएर आपूर्ति व्यवस्थापन र बजार अनुगमनका विषयमा छलफल गर्दै आएको उल्लेख गर्दै अन्सारीले छलफलबाट पहिचान भएका समस्या समाधानतर्फ काम भइरहेको बताए।

समितिको छलफलमा खाद्य वस्तुको गुणस्तरसम्बन्धी विषय पनि उठेको थियो।

सभापति अन्सारीले होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने पाम तेलमा रासायनिक पदार्थ मिसाउने प्रवृत्ति देखिएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

खाद्य वस्तुमा हुने मिसावटले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

उनले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउनेसँगै बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

समितिले अत्यावश्यक वस्तुको आपूर्ति अवस्था, बजार मूल्य र उपभोक्ता हितसँग सम्बन्धित समस्याबारे सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग छलफल गरी सुधारका लागि आवश्यक निर्देशन दिँदै आएको छ।