काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायत यातायातसम्बन्धी सेवालाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ।

नयाँ व्यवस्थाअनुसार लाइसेन्सको नयाँ आवेदन दिन, फारम भर्न र विवरण अद्यावधिक गर्न अब राष्ट्रिय परिचयपत्र, सेवाग्राहीकै आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य गरिएको छ।

ad

नयाँ प्रणाली लागु गर्ने क्रममा सर्भर अपग्रेड गर्दा आएको प्राविधिक समस्याका कारण साउन १ गतेदेखि देशभरका यातायात कार्यालयमा करिब ३ साता यातायातसम्बन्धी सबै सेवा रोकिएका थिए। तर, अहिले उक्त समस्या समाधान भई सेवा पूर्ण रूपमा सञ्चालनमा आइसकेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले स्पष्ट पारेका छन्।

विभागले नयाँ अनलाइन प्रणालीलाई नागरिक एप, राष्ट्रिय परिचयपत्र तथा मोबाइल सेवा प्रदायकहरूसँग एकीकृत गरेको छ।

अटो फिल : अब नागरिक एपमार्फत सेवाग्राहीका व्यक्तिगत विवरणहरू स्वतः भरिने (अटो फिल) व्यवस्था मिलाइएको छ।

इमेलमा ओटिपी : भविष्यमा देशबाहिर रहेर पनि यातायातसम्बन्धी सेवा लिन चाहने सेवाग्राहीका लागि इमेलमार्फत ओटीपी (OTP) प्राप्त गर्न सकिने सुविधा थपिएको छ।

बागमती प्रदेशका कलंकी, ठूलो भर्‍याङलगायतका कार्यालयमा नयाँ लाइसेन्सको फारम भर्न नपाइएको गुनासोबारे स्पष्ट पार्दै निर्देशक खतिवडाले अहिले सर्भर सुचारुरुपले चलिरहेको बताए।

उनका अनुसार हाल नवीकरण गर्ने सेवाग्राहीको चाप अत्यधिक रहेकाले कार्यालयहरूले आन्तरिक व्यवस्थापनका लागि पहिलो प्राथमिकता नवीकरणलाई दिएका हुन्। देशभर नयाँ फारम भर्ने, लिखित परीक्षा दिने र ट्रायल दिने काम भने निरन्तर भइरहेको छ।

नयाँ प्रणाली राष्ट्रिय परिचयपत्रको भेरिफिकेसनसँग प्रत्यक्ष जोडिएको छ। परिचयपत्रको कार्ड छापिएर आउन केही समय लाग्ने भए पनि फारम भर्नका लागि कार्ड नै चाहिँदैन। जिल्ला प्रशासन कार्यालयमा गएर विवरण दर्ता गराउनासाथ प्राप्त हुने परिचयपत्रको नम्बर मात्र भए पुग्ने विभागले प्रस्ट पारेको छ।

सातै प्रदेशका लागि छुट्टाछुट्टै वेबसाइटहरू
नयाँ प्रणाली कार्यान्वयनसँगै सेवाग्राहीको सुविधाका लागि विभागले प्रदेशअनुसार अनलाइन फारम भर्न छुट्टाछुट्टै वेबसाइटहरू सञ्चालनमा ल्याएको छ:

कोशी प्रदेश: edlvrs.koshi.gov.np

मधेश प्रदेश: edlvrs.madhesh.gov.np

बागमती प्रदेश: edlvrs.bagamati.gov.np

गण्डकी प्रदेश: edlvrs.gandaki.gov.np

लुम्बिनी प्रदेश: edlvrs.lumbini.gov.np

कर्णाली प्रदेश: edlvrs.karnali.gov.np

सुदूरपश्चिम प्रदेश: edlvrs.sudurpashchim.gov.np