काठमाडौं । सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन्। बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

ad

मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेका अन्य प्रमुख निर्णयहरू यसप्रकार रहेका छन्:

१. एनसेलको छानबिन प्रतिवेदन सार्वजनिक गरिने
बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने निर्णय गरेको छ।

२. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती नियुक्त
वैदेशिक रोजगार बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

३. विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट
सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्णरूपमा छुट प्रदान गर्ने निर्णय गरेको छ।

४. पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति
मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई नेपालको राजधानी काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्नका लागि औपचारिक सहमति प्रदान गर्ने निर्णयसमेत गरेको छ।

प्रवक्ता पोखरेलले यसअघि विभिन्न घटनाका छानबिनका लागि गठित कतिपय समिति वा आयोगका प्रतिवेदनहरू सार्वजनिक भइसकेको र बाँकी रहेका प्रतिवेदनहरू पनि क्रमशः सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।