
काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेती नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले उप्रेतीलाई उक्त महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि युवा, श्रम तथा रोजगार मन्त्रालयले बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको थियो। मन्त्रालयको आह्वानमा कुल १३ जना आकांक्षीले आवेदन दिएका थिए।
आवेदन दिएका १३ जनामध्येबाट कागजात तथा योग्यताको आधारमा ६ जना उम्मेदवारहरू अन्तिम अन्तर्वार्ताका लागि छनौटमा परेका थिए। छनौट हुनेहरूमा उप्रेतीसहित अशोककुमार घिमिरे, विशाल भट्टराई, सरोजकुमार शर्मा र सुदिप देवकोटा थिए। तीमध्येबाट मन्त्रिपरिषद्ले उप्रेतीलाई कार्यकारी निर्देशकमा चयन गरेको हो।
वर्तमान सरकारले अध्यादेशमार्फत अघिल्ला सरकारका पालामा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने क्रममा बोर्डका तत्कालीन कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती पनि पदमुक्त भएका थिए।
त्यसयता लामो समयदेखि खाली रहेको सो पदमा मन्त्रालयले सहसचिव चन्द्रबहादुर सिवाकोटीलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएको थियो।
नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीसामु वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र बोर्डका कार्यलाई थप प्रभावकारी बनाउने प्रमुख चुनौती रहेको छ।









Facebook Comments