
काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सुधार र शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभएको भन्दै आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघले यसअघिका सहमति कार्यान्वयन नभएको भन्दै सरकारमाथि दबाब बढाउन नयाँ चरणको आन्दोलन अघि बढाउने जनाएको हो।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, शिक्षामा राज्यको लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मागसहित आन्दोलन सुरु गर्ने जानकारी दिए।
उनका अनुसार भदौ सुरु भएपछि महासंघको विस्तारित कार्यसमिति बैठक बसेर आन्दोलनका ठोस कार्यक्रम र मिति तय गरिनेछ। त्यसअघि शिक्षा तथा खेलकुद मन्त्रीलाई मागसहित ध्यानाकर्षण पत्र बुझाउने तयारी महासंघले गरेको छ।
अध्यक्ष सुवेदीले शिक्षक तथा विद्यालय कर्मचारीका समस्या र असन्तुष्टि बढ्दै गएकाले यसपटकको आन्दोलन विगतको तुलनामा अझ व्यापक र प्रभावकारी हुने दाबी गरे। उनका अनुसार आन्दोलन प्रारम्भमा स्थानीय तह, त्यसपछि जिल्ला र प्रदेश हुँदै काठमाडौं केन्द्रित हुनेछ।
महासंघले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षक तथा विद्यालय कर्मचारीबीच विभेद गरेको आरोप लगाएको छ। अन्य सरकारी कर्मचारीको तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गरिए पनि प्रारम्भिक बालविकास (ईसीडी) शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकलाई सो सुविधाबाट वञ्चित गरिएको महासंघको भनाइ छ।
महासंघले सबै तहका शिक्षक तथा कर्मचारीलाई समान सेवा–सुविधाको व्यवस्था गर्न माग गरेको छ। साथै, शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी सुनिश्चित गर्न, विद्यार्थीका लागि छात्रवृत्ति र दिवा खाजाको प्रभावकारी व्यवस्था गर्न तथा विद्यालयलाई निःशुल्क विद्युत र इन्टरनेट सेवा उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेको छ।
शिक्षक सरुवा प्रक्रियाबारे पनि महासंघले असन्तुष्टि जनाएको छ। अध्यक्ष सुवेदीले शिक्षा नियमावलीको १०औँ संशोधनले सरुवा प्रक्रियालाई जटिल बनाएको भन्दै सरल र सहज प्रणाली बनाउनुपर्ने बताए। उनका अनुसार पठाउने र लिने विद्यालय तथा सरुवा हुन चाहने शिक्षक तयार भएको अवस्थामा अनावश्यक प्रशासनिक जटिलता हटाउनुपर्ने आवश्यकता छ।
महासंघले करिब ४० देखि ५० बुँदामा आधारित मागपत्र तयार गरेको जनाएको छ। मागपत्र बुझाएपछि बस्ने बैठकले आन्दोलनको औपचारिक कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिएको छ।
महासंघ राजनीतिक दलको भ्रातृ संगठन नभएको स्पष्ट पार्दै अध्यक्ष सुवेदीले शिक्षकका पेशागत र शैक्षिक मुद्दालाई लिएर आन्दोलन गर्न लागिएको दाबी गरे।









Facebook Comments