शिव कृष्ण जेनरल स्टोरबाट जम्मा २५० रुपैयाँको सामान खरिद गरी बिल लिने एक उपभोक्ताले सरकारको 'करदाता प्रोत्साहन उपहार कार्यक्रम' अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार जित्न सफल भएका छन्।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको विद्युतीय लक्की ड्र मार्फत साउन १ गतेदेखि १५ गतेसम्मका योग्य कारोबारहरू मध्येबाट ती उपभोक्ता बम्पर पुरस्कारका लागि चयन भएका हुन्।
 
नेपाल सरकारले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न र कर प्रणालीलाई पारदर्शी बनाउन चालु आर्थिक वर्षदेखि यो प्रोत्साहन योजना ल्याएको हो।
 
१०० रुपैयाँभन्दा बढीको सामान खरिद गरी क्युआर वा अनलाइन भुक्तानी गर्ने तथा नगद कारोबारको बिल दर्ता गर्ने उपभोक्ताहरू यस उपहार कार्यक्रमका लागि योग्य हुने व्यवस्था गरिएको छ।
 
विभागका अनुसार नियमानुसार लाग्ने आकस्मिक लाभकर कट्टी गरी बाँकी रकम विजेताको बैंक खातामा सिधै जम्मा गरिनेछ।
 
सामान्य उपभोग्य वस्तु खरिद गर्दा लिएको सानो बिलले नै १० लाखको बम्पर उपहार दिलाएपछि यस कार्यक्रमप्रति उपभोक्ताको आकर्षण र सचेतना थप बढ्ने विश्वास लिइएको छ।

ad