
काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो मूल्यका घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन अनुरोध गरेको हो।
विभागका अनुसार नेपाल सरकारको राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले इजाजतपत्र प्राप्त गरेपछि मात्रै कारोबार गर्न पाउनेछन्।
इजाजतपत्रका लागि कारोबारको आकारअनुसार दस्तुर निर्धारण गरिएको छ। पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले पाँच लाख रुपैयाँ र पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था छ।
यसअघि विभागको सूचनाबमोजिम अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले नयाँ सूचनाअनुसार पुनः आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।
अनलाइन आवेदनसँगै आवश्यक कागजातको मुद्रित प्रतिलिपि विभागमा बुझाउनुपर्नेछ। साथै, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालकहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको आधारमा आपराधिक गतिविधिमा संलग्न नरहेको प्रमाणपत्र पनि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले इजाजतपत्र प्रक्रिया तथा आवश्यक विवरणबारे थप जानकारीका लागि विभागसँग सम्पर्क गर्न सम्बन्धित फर्म, कम्पनी र संस्थालाई आग्रह गरेको छ।









Facebook Comments