
काठमाडौं– खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गर्ने व्यक्ति वा समूहलाई कानुनअनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बजारमा ग्यास लुकाउने, आवश्यकता भन्दा बढी भण्डारण गर्ने, आपूर्ति अवरुद्ध गरेर अभावको अवस्था सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।
उनका अनुसार यस्ता गतिविधिमा संलग्न भएको प्रमाणित भएमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कानुनी कारबाही अघि बढाइनेछ।
थापाले कृत्रिम अभावका कारण उपभोक्तालाई सास्ती दिने जोसुकैलाई पनि कानुनको दायरामा ल्याइने बताए। उनले दोषी ठहर भएका व्यक्तिबाट ग्यास र सम्बन्धित सामग्री जफत गर्नुका साथै जरिवाना र कैद सजायसमेत हुन सक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे।
बजारमा पछिल्लो समय ग्यास अभावको चर्चा बढ्न थालेपछि प्रशासनले गोदाम, डिलर र बिक्री केन्द्रहरूमा निगरानी तथा अनुगमनलाई थप प्रभावकारी बनाएको जनाएको छ। अनियमितता फेला परे तत्काल कारबाही प्रक्रिया अघि बढाइने प्रशासनको भनाइ छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहको पछि नलाग्न आग्रह गर्दै कृत्रिम अभाव, कालोबजारी वा चर्को मूल्य असुलीको जानकारी प्राप्त भएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायमा सूचना दिन अनुरोध गरेको छ।









Facebook Comments