नेपाल सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्यावलाई चार वर्षका लागि नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावका आधारमा उनलाई बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो।

लगानी बोर्ड नेपाल स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, ठूला पूर्वाधार आयोजना अघि बढाउने तथा देशमा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रमुख सरकारी निकाय हो। नयाँ नेतृत्वसँगै बोर्डको लगानी प्रवर्द्धन तथा परियोजना कार्यान्वयन प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।

ad

याङ्की उक्याव अन्तर्राष्ट्रिय विकास, सार्वजनिक नीति र विकास अर्थशास्त्रका क्षेत्रमा लामो अनुभव भएकी विज्ञ हुन्। उनले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी छन् भने यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीको जिम्मेवारी पनि सम्हालेकी थिइन्।

दिगो विकास, सार्वजनिक लगानी, पूर्वाधार विकास, संघीय वित्तीय प्रणाली तथा आर्थिक नीतिसम्बन्धी क्षेत्रमा उनको व्यावसायिक अनुभवलाई सरकारले नेतृत्व चयनको प्रमुख आधार मानेको छ।

सीईओ नियुक्तिका लागि भएको प्रतिस्पर्धामा दुई दर्जनभन्दा बढी उम्मेदवार सहभागी भएका थिए। छनोट समितिले प्रारम्भिक मूल्याङ्कनपछि आठ जनालाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो। अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिपछि याङ्की उक्याव, मनोज पौडेल र जितेन्द्र धिताल अन्तिम तीन जनाको सिफारिस सूचीमा परेका थिए।

अन्ततः मन्त्रिपरिषद्ले उक्यावलाई लगानी बोर्ड नेपालको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।