
काठमाडौं । पछिल्ला केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यास पाउन उपभोक्ताले सास्ती खेपिरहेका बेला नेपाल आयल निगमले ग्यासको आपूर्ति नघटेको दाबी गरेको छ। निगमका अनुसार बजारमा देखिएको समस्या आपूर्तिको कमीभन्दा पनि एक्कासी बढेको मागका कारण उत्पन्न भएको हो।
बजारमा ग्यास अभावको चर्चा र ग्यास डिपोमा खाली सिलिन्डर बोकेर लामो लाइनमा बसेका उपभोक्ताका दृश्य सार्वजनिक भइरहेका छन्। यद्यपि निगमले नियमित परिमाणमै ग्यास आयात र वितरण भइरहेको जनाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हाल ७.५ किलोको आधा सिलिन्डरको सट्टा १४.२ किलो क्षमताको पूर्ण सिलिन्डर वितरण हुन थालेपछि धेरै उपभोक्ताले एकैपटक ग्यास भर्न थालेका छन्। यसले वितरण प्रणालीमा अस्थायी दबाब सिर्जना गरेको उनको भनाइ छ।
उनले उपलब्ध सिलिन्डरमा समेत पुनः ग्यास भर्ने क्रम बढेकाले बजारमा माग अस्वाभाविक रूपमा बढेको र त्यसकै प्रभावस्वरूप केही स्थानमा आपूर्तिमा कठिनाइ देखिएको बताए।
निगमले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा मासिक औसत ४५ हजारदेखि ४६ हजार मेट्रिकटन एलपी ग्यासको माग रहने गरेको छ। गत असारमा ४४ हजार ५४४ मेट्रिकटन ग्यास वितरण गरिएको थियो। त्यसअघि चैतमा ३८ हजार ८ सय, वैशाखमा ३२ हजार ५६ र जेठमा ३३ हजार ८४२ मेट्रिकटन ग्यास खपत भएको थियो।
प्रवक्ता ठाकुरका अनुसार अघिल्ला महिनामा खपत तुलनात्मक रूपमा कम रहेकाले आपूर्तिमा समस्या देखिएको थिएन। तर अहिले देशभर एकै समयमा पूर्ण सिलिन्डर भर्ने क्रम बढेपछि बजारमा अस्थायी चाप सिर्जना भएको हो।
निगमले भारतको इन्डियन आयल कर्पोरेसनसँग भएको वार्षिक आपूर्ति सम्झौताअनुसार ग्यास आयात गर्ने भएकाले छोटो अवधिमा एक्कासी बढेको अतिरिक्त माग तत्काल व्यवस्थापन गर्न चुनौती रहेको जनाएको छ। साथै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न र अफवाहमा नलाग्न पनि आग्रह गरेको छ।







Facebook Comments