
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएको पूर्वसहमति कार्यान्वयन नभए आगामी भदौदेखि पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। महासंघले शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै यसअघिको भन्दा व्यापक सहभागितासहित आन्दोलन गर्ने संकेत दिएको हो।
महासंघको साउन १६ र १७ गते बसेको परिषद् बैठकले सरकारसँग भएका सहमति अझै कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै आवश्यक परे पुनः सडक संघर्ष सुरु गर्ने निर्णय गरेको जनाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा नियमावलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै सरकारले प्रतिबद्धताअनुसार काम नगरे शिक्षकहरू फेरि आन्दोलनमा जान बाध्य हुने बताए। उनका अनुसार यसपटक आन्दोलन अघिल्लो चरणभन्दा अझ सशक्त र व्यापक हुने तयारी गरिएको छ।
शिक्षकहरूले २०८१ साल चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका थिए, जुन २९ दिनसम्म निरन्तर चलेको थियो। त्यसपछि २०८२ साल वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो।
महासंघको भनाइअनुसार उक्त सहमतिपछि पनि अपेक्षित रूपमा शिक्षा ऐन जारी हुन नसकेकाले सरकारप्रति असन्तुष्टि बढेको छ। यही कारण आन्दोलनका कार्यक्रम पुनः अघि बढाउने निर्णय गरिएको महासंघले जनाएको छ। सरकारले समयमै सहमति कार्यान्वयन नगरे भदौदेखि चरणबद्ध आन्दोलन सुरु हुने चेतावनी पनि महासंघले दिएको छ।







Facebook Comments