काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। हालसम्मको अनुसन्धानले प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै परीक्षा हलभित्रैबाट मोबाइलमा फोटो खिची ह्वाट्सएपमार्फत सार्वजनिक गरिएको देखाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी शिक्षा ऐन, २०२८ अन्तर्गत अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा कैलालीका सन्दीप सिंह ठकुरी, रौतहटका २५ वर्षीय अतुलकुमार मिश्र र बाराको स्थायी घर भई हाल वीरगन्ज–२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्।

ad

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको परीक्षामा प्रश्नपत्र परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘एमबीएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप समूहमा पुगेको थियो। त्यसपछि उक्त प्रश्नपत्र विभिन्न सामाजिक सञ्जाल र अन्य समूहमा फैलिएको प्रारम्भिक निष्कर्ष छ।

सीआईबीका अनुसार हालसम्मको अनुसन्धानमा अब्दुल सानि हाकिमको भूमिका सबैभन्दा महत्वपूर्ण देखिएको छ। उनी आफैं पनि सोही परीक्षाका परीक्षार्थी रहेको र परीक्षा हलभित्र मोबाइल प्रयोग गरेर प्रश्नपत्रको तस्वीर खिची ह्वाट्सएप समूहमा पठाएको आशंका गरिएको छ।

प्रहरीका अनुसार हाकिमले पठाएको प्रश्नपत्रपछि निजी कलेजमा अध्यापन गरिरहेका सन्दीप सिंहले त्यसलाई अन्य ह्वाट्सएप समूहमा समेत साझा गरेका थिए। अर्का पक्राउ परेका अतुलकुमार मिश्रले भने प्रश्नपत्रका केही उत्तर तयार गरेर पुनः समूहमा पठाएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धान अधिकारीहरूले घटनालाई अहिलेसम्म पूर्ण रूपमा योजनाबद्ध प्रश्नपत्र चुहावटको रूपमा निष्कर्षमा पुर्‍याउन नसकिएको बताएका छन्। प्रारम्भिक अनुसन्धानले परीक्षा हलभित्र प्रवेश गरेलगत्तै मोबाइलबाट फोटो खिचिएको देखिए पनि यसमा अन्य व्यक्तिको संलग्नता वा पूर्वयोजना थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनीहरूको भनाइ छ।

यस घटनामा त्रिभुवन विश्वविद्यालयका कर्मचारीको संलग्नता छ कि छैन भन्ने विषय पनि अनुसन्धानको दायरामा राखिएको छ। यद्यपि हालसम्म त्यस्तो संलग्नता पुष्टि हुने ठोस प्रमाण भने फेला नपरेको प्रहरी स्रोतले जनाएको छ।

प्रश्नपत्र पटक–पटक बाहिरिने घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमाथि पुनः प्रश्न उठाएको छ। यसअघि २०७५ सालमा एमएड प्रथम सेमेस्टर (साइकोलोजी) को प्रश्नपत्र पनि परीक्षा चलिरहेका बेला सार्वजनिक भएको थियो।

प्रहरीले परीक्षा केन्द्रमा मोबाइल फोनको प्रभावकारी निगरानी र व्यवस्थापन नहुँदा यस्ता घटना दोहोरिने जोखिम बढेको उल्लेख गर्दै सुरक्षा प्रणालीमा सुधार आवश्यक रहेको औंल्याएको छ। सीआईबीले घटनाको सम्पूर्ण पृष्ठभूमि र संलग्न व्यक्तिहरूको भूमिका खुलाउने गरी अनुसन्धान जारी रहेको जनाएको छ।