काठमाडौं । काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि छनोट प्रक्रिया थप अघि बढेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन दिएका उम्मेदवारमध्ये १० जनाको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गर्दै उनीहरूमाथि सार्वजनिक राय–सुझाव मागेको छ।

उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ अनुसार प्रारम्भिक मूल्यांकनपछि दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपाने अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन्।

ad

मन्त्रालयले सर्टलिस्टमा परेका उम्मेदवारबारे इच्छुक व्यक्ति तथा सरोकारवालाबाट साउन २० गतेभित्र अनलाइन माध्यमबाट राय, सुझाव वा प्रतिक्रिया पठाउन आग्रह गरेको छ।

यसपछि साउन २२ गते सबै उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ताको कार्यक्रम तय गरिएको छ। प्रत्येक उम्मेदवारलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न १५ मिनेटको समय उपलब्ध गराइनेछ। प्रस्तुतीकरण सकिएलगत्तै अन्तर्वार्ता सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रस्तुतीकरण, अन्तर्वार्ता र प्राप्त सुझावका आधारमा उपयुक्त उम्मेदवारको सिफारिस प्रक्रिया अगाडि बढाइनेछ।