
काठमाडौं । नेपाल वायुसेवा निगममा नयाँ नेतृत्व सम्हालेसँगै संस्थागत सुधारका कार्यहरूले तीव्रता पाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई उच्च प्राथमिकतामा राखिएसँगै निगमको समग्र आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा उत्साहजनक सुधार देखिएको छ।
गत जेठ ५ गते खुला प्रतिस्पर्धाको माध्यमबाट छनोट भएका पाँच जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधि सहितको सात सदस्यीय नयाँ सञ्चालक समिति गठन गरिएको थियो। यसैक्रममा, गत असार ३० गतेको मन्त्रिपरिषद्को महत्त्वपूर्ण निर्णयमार्फत हवाई सेवा क्षेत्रका विज्ञ महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धक तथा कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो। कार्यकारी अध्यक्षको कार्यभार सम्हालेलगत्तै श्रेष्ठले आगामी तीन वर्षको अवधिभित्र निगमलाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य सार्वजनिक गरेका थिए।
पहिलो १५ दिनमै ठोस कार्ययोजना र रणनीति
कार्यकारी अध्यक्ष श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेको पहिलो १५ दिनको अन्तरालमै सञ्चालक समितिको तीनवटा महत्त्वपूर्ण बैठक तथा विभिन्न सरोकारवालाहरूसँग छलफल सम्पन्न गरेका छन्। संस्थागत सुधारको कार्ययोजना, प्रमुख प्राथमिकताहरू र दीगो रणनीति तय गरी कार्यान्वयनमा लगिएको उनले जानकारी दिएका छन्।
वित्तीय र सञ्चालनगत प्रगति
नयाँ व्यवस्थापनको प्रभावकारिता निगमले हालै सार्वजनिक गरेको आर्थिक तथा सञ्चालन सूचकहरूमा प्रष्ट रूपमा झल्किएको छ:
आम्दानीमा ३२ प्रतिशतको वृद्धि: गत आर्थिक वर्षको असार महिनाको तुलनामा यस वर्षको असार महिनामा निगमको आम्दानी करिब ३२ प्रतिशतले वृद्धि भएको छ। सिट उपयोगितामा सुधार: गत वर्षको असार महिनामा करिब ७५ प्रतिशत रहेको सिट उपयोगिता (अकुपेन्सी) यस वर्षको असारमा उल्लेखनीय रूपमा बढेर ८५.४ प्रतिशत पुगेको छ।
आत्मनिर्भर र विश्वसनीय राष्ट्रिय ध्वजावाहक बनाउने प्रतिबद्धता
निगमले उपलब्ध सीमित स्रोत, साधन र जनशक्तिको चुस्त तथा प्रभावकारी परिचालन गर्दै आम्दानी बढाउने, अनावश्यक र फजुल खर्च नियन्त्रण गर्ने तथा सेवाको दायरा विस्तार गर्ने नीतिलाई अगाडि बढाइरहेको छ। आगामी दिनहरूमा सेवा सञ्जालको विस्तार, सञ्चालन दक्षतामा अभिवृद्धि र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने तयारी पनि भइरहेको छ।
आफ्नो लामो अनुभव, व्यावसायिक विज्ञता र अन्तर्राष्ट्रिय सम्बन्धको गतिलो सदुपयोग गर्दै नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर, प्रतिस्पर्धी, पूर्ण पारदर्शी र विश्वसनीय राष्ट्रिय ध्वजावाहकको रूपमा स्थापित गर्ने दृढ प्रतिबद्धता कार्यकारी अध्यक्ष श्रेष्ठले व्यक्त गरेका छन्।







Facebook Comments